चितवन विशेष

चितवनमा पुनर्निर्माण सुस्त, चार वर्षमा ६१ प्रतिशत काम सकियो

Banner

निशा श्रेष्ठ

चितवन, पुस १०-

चितवनमा २०७२ सालको भूकम्पमा पूर्ण क्षति भएका सात हजार चार सय ६० घरधुरी मध्ये आधाभन्दा बढी निर्माण भएका छन् ।

चितवनका सात वटै स्थानीय तहमा गरी चार हजार पाँच सय ९५ वटा निजी घरहरु निर्माण सम्पन्न भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा/भवन) चितवनको आयोजनामा बुधबार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कुल लाभग्राही सात हजार ४६० घरधुरी मध्ये ६ हजार ७८४ जनाले मात्र पुनर्निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता वापतको रकम लगेका थिए । त्यस्तै प्रथम किस्ता लिने मध्ये पाँचहजार ५४० जनाले दोस्रो किस्ता र चार हजार ५९५ जनाले तेस्रो किस्ता लगेका छन् ।

इकाईबाट पुनर्निर्माणका लागि तेस्रो किस्तासमेत लगेर घर निर्माण गर्नेको सङ्ख्या चार हजार ५९५ रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका इञ्जिनियर सुजन नेपालले जानकारी दिए । नेपालकाअनुसार प्रबलिकरणमा भने चितवनमा शुन्य प्राय रहेको छ । जिल्लामा आंशिक क्षति भएर प्रबलीकरण भइरहेका घरको संख्या तीन वटा मात्रै रहेको छ ।

चितवनमा प्रबलिकरणका लागि छनौट भएका लाभग्राही एक हजार ४६ मध्ये ३९२ जनाले मात्रै पहिलो किस्ताका लागि सम्झौता गरेका थिए भने दोस्रो किस्ता बापतको रकम कसैले पनि नबुझेको इञ्जिनियर नेपालले जानकारी दिए । यस्तै चितवनमा पहिचान भएका एक हजार १९८ भूमिहिन लाभग्राहीमध्ये ऐलानी जग्गामा बसोबास गर्ने एक हजार ११० जनालाई जिल्ला समन्वय समितिको बैठकबाट सोही स्थानमा घर बनाउने अनुमति दिइएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिए ।

जग्गा व्यस्थापन गर्न बाँकी ८ जना लाभग्राहीलाई अन्यन्त्र घडेरी किन्न प्रक्रिया अगाडि बढाइएको प्रमुख डल्लाकोटीले बताए । जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका इञ्जिनियर सरोज श्रेष्ठकाअनुसार भूकम्पका कारण जिल्लामा रहेका ३२० विद्यालयमा क्षति पुगेको थियो जसमध्ये ५२ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ५१ विद्यालयको पुनर्निर्माण जारी छ । भूकम्पका कारण १० वटा स्वास्थ्य चौकीको पुनर्निर्माण गर्नुपर्नेमा एउटा मात्रै स्वास्थ्य चौकीको पुनर्निर्माण पूरा भएको भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । जिल्लामा ६ वटा स्वास्थ्य चौकीको भवन पुनर्निर्माण भइरहेको छ भने तीन वटाको पुनर्निर्माण हुन बाँकी छ ।

जिल्लाका विभिन्न ५३ वटा सांस्कृतिक सम्पदामा भूकम्पले क्षति पु¥याएको थियो । चार वर्षको अवधिमा ३० वटा सांस्कृतिक सम्पदानको पुनर्निर्माण सम्पन्न भएको तथा एउटाको पुनर्निर्माणको काम भइरहेको जनाइएको छ । २२ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणको बाँकी नै रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>