चितवन विशेष

१६ औं संस्करणको चितवन हात्ती महोत्सव सौराहामा सुरु

Banner

चितवन,पुस १०-

१६ औं संस्करणको चितवन हात्ती महोत्सव आजदेखि सौराहामा सुरु भएको छ । आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल भ्रमण बर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको हात्ती महोत्सवले अन्तर्राष्ट्रिय जगतमा सकरात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले हात्ती महोत्सव मानिस र वन्यजन्तुको सुमधुर सम्बन्ध व्यक्त गर्ने माध्याम भएको उल्लेख गर्नुभयो । ‘धार्मिक ग्रन्थ अनुसार इतिहासमा पनि हात्तीको प्रयोग हुने गरेको छ,उहाँले भन्नुभयो’ बिज्ञ भन्नेहरुले अनावश्यक भ्रम पैदा गरिरहेका छन् ।’

अध्यक्ष प्रचण्डले नेपालको पर्यटन व्यवसाय संमृद्धिका लागि अनन्त विकासको क्षेत्र भएको बताउनुभयो । उहाँले पूर्वधारको मात्र ठिक ढङगले विकास गर्नसके नेपालमा पर्याप्त पर्यटक भित्राउन सकिने उहाँको भनाई छ । ‘प्रकृतीले हामीलाई जैविक, सांस्कृतिक र एतिहाँसिक धरोहरका बस्तुहरु दिएको छ, अध्यक्ष प्रचण्डले भन्नुभयो’,यसको सदुपयोग गर्न आवश्यक छ ।’ उहाँले पर्यटन क्षेत्र जति विकास ग¥यो त्यती प्राप्त हुने क्षेत्र भएको बताउनुभयो ।

देशमा सबै मिलेर ल्याएको परिवर्तन पनि मिलेरै संस्थागत गर्नुपर्ने अध्यक्ष प्रचण्डको जोड छ । उहाँले भन्नुभयो,‘हामी सबै मिलेर परिवर्तन ल्यायौं,विकासका कुरामा पनि खुट्टा तानातान हुन्छकी भन्ने चिन्ता छ ।’ उहाँले अवको दशक विकास र संमृद्धिको दशकका रुपमा मनाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल भ्रमण बर्ष संगै अन्तर्राष्ट्रिय जगतमा नेपालको राम्रो सन्देश प्रबाह भएको बताउनुभयो । अन्तर्राष्ट्रिय संस्थाहरुको पछिल्लो तथ्याङक अनुसार नेपाल विकासतर्फ फड्को मार्न खोज्दैछ भन्ने सन्देश प्रवाह भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गफ नभई काम गरेर खाने बानीको विकास सबैमा हुनुपर्ने बताउनुभयो । उहाँले नेपाललाई गरिब राष्ट्रबाट कसरी धनी राष्ट्र बनाउने भन्ने चुनौती रहेको भन्दै देशको राष्ट्रियता पनि अर्थतन्त्रसंगै जोडिएको उल्लेख गर्नुभयो । नेपाल राजनैतिक रुपमा मात्र नभई आर्थिक रुपमा पनि सफल देश बन्नुपर्ने उहाँको जोड छ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा सुरु महोत्सवलाई महत्वका साथ लिइएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा १८ गतेसम्म बाघमारा सामुदायीक वनको चौरमा महोत्सब सञ्चालन हुनेछ । यसबर्षको महोत्सवको नारा ‘हात्ती मेरो साथी’ भन्ने तय गरिएको छ । लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनुका साथै महोत्सबमा हात्तीसँग सम्बन्धित गतिविधि समावेश गरिनेछ ।

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, हात्तीका छावाहरुको रोमाञ्चकारी फूटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती पेन्टिङ प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने हात्ती महोत्सवका संयोजक एवं क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष राममणि खनालले जानकारी दिनुभयो । भ्रमण वर्षकै कारण यसअघि हटाइएको टाँगादौड, गाडादौड र डुँगादौडलाई यसवर्ष फेरि समावेश गरिएको छ । महोत्सवको समयावधि लम्बिएकाले ती खेलहरुलाई पुनः समावेश गरिएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो ।

भ्रमण वर्षलाई लक्षित गर्दै यसपालिको महोत्सवको समयावधि थप गरिएको छ । सौराहामा भ्रमणको शुभारम्भका लागि यसवर्ष ४ दिन समय थपिएको क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । प्रदेश नम्वर ३ सरकारले भ्रमण बर्षको सुभारम्भ सोराहाबाट गर्दैछ । यसअघि पुस ११ देखि १५ गतेसम्म महोत्सव हँुदै आएको थियो । तर, यसवर्ष पुष १० देखि १८ गतेसम्म लम्ब्याइएको हो ।

उद्घाटन कार्यक्रममा संरक्षणको क्षेत्रमा योगदान पु¥याउने नन्दप्रसाद भट्टराई,सन्तकुमार श्रेष्ठ र डिमरा चौधरीलाई सम्मान गरिएको छ । सो अवसरमा प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहाकार जेएन थपलिया,रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन,नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार,नेपाली काँग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठ लगाएतले बोल्नुभएको थियो । कार्यक्रम क्षेत्रिय होटल संघ चितवन सौराहाका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>