चितवन विशेष
जेसीजको राष्ट्रिय महाधिवेशन सुरु, देश निर्माणमा जुट्न युवालाई प्रचण्डको आब्हान

चितवन,पुस ९-
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्माणमा जुट्न युवाहरुलाई आब्हान गर्नुभएको छ । चितवनको रत्ननगरमा आजदेखि सुरु नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले युवाको अग्रसरतामा मात्रै परिवर्तन सम्भव रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘तपाई युवाहरु उदाउँदो सुर्य जस्तै हो, देशका लागि तपाईको ज्ञान, सिप र उर्जा आवश्यकता छ ।’ देश विकास निर्माणको चरणमा प्रवेश गरेको भन्दै उहाँले सुनौलो अभियानमा जुट्न आग्रह गर्नुभयो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको भूमिका महत्वपूर्ण भएको उहाँको भनाई छ । समाजका विभिन्न क्षेत्रमा काम गर्ने युवाहरुलाई सकरात्मक काममा उत्प्रेरित गरेको भन्दै प्रचण्डले जेसिजको प्रसंसा गर्नुभयो ।
‘युवाको नेता नभएको भए म पनि यो स्थानसम्म आउने थिएन,अध्यक्ष प्रचण्डले भन्नुभयो’,नेतृत्वमा आउनका लागि युवाहरुलाई प्रशिक्षणको जरुरी छ ।’ उहाँले देशमा सबै शक्ती मिलेर ल्याएको परिवर्तन संस्थागत गर्नपनि एकजुट हुनुपर्ने बताउनुभयो । सबैले कल्पना गरेको समाजवादी व्यवस्था निर्माण गर्न मिलेर जानुको विकल्प नरहेको उहाँको धारणा छ । प्रचण्डले नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा चितवनको पर्यटकिय नगरी रत्ननगरमा सुरु राष्ट्रिय महाधिवेशनले देश विदेशमा सकरात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।
महाधिवेशनले सन् २०२० का लागि नयाँ नेतृत्व प्रदान गर्नेछ । पुस १२ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब तीन हजार जेसीज प्रतिनिधि सहभागि भएको आयोजक रत्ननगर जेसीजले जनाएको छ । नेपाल जेसीसको ७७ जिल्लामा एक सय ५० वटा जेसीसका शाखा रहेका छन् ।
महाधिवेशनले राष्ट्रिय अध्यक्ष एक जना, चार जना कार्यकारिणी उपाध्यक्ष, १२ जना उपाध्यक्षसहित कार्यसमिति निर्वाचित गर्नेछ । अध्यक्ष पदका लागि विसहजार जेसिज चितवनका पूर्व अध्यक्ष अरुणेश्वर खनाल, पथरी जेसिज मोरङका संस्थापक अध्यक्ष अशोक संकर र काभ्रे जेसिजका पूर्व अध्यक्ष विकास मानन्धरको उम्मेद्वारी दिएका छन् । कार्यकारिणी चार उपाध्यक्षका लागि ११ जना र उपाध्यक्ष १२ जनाका लागि २१ जनाको उम्मेद्वारी परेको महाधिवेशनका प्रेस संयोजक देवु बानियाँले जानकारी दिनुभयो । महासचिव,कोषाध्यक्ष र कानुनी सल्लाहाकार मनोनित हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने १० युवालाई राष्ट्रिय युवा सम्मानबाट सम्मानित भएका छन् । उद्घाटन समारोहमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन,जेसिजका संस्थापक अध्यक्ष भेष बहादुर थापाले वोल्नुभएको थियो । कार्यक्रम नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष महेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
























