नवलपरासी

सुस्ता जोड्ने गरी नारायणी नदीमा नेपालकै लामो पुल बन्दै

Banner

विकास अधिकारी

सुस्ता, पुस ६-

नवलपरासी पारी सुस्ता जोड्ने गरी नारायणी नदीमा निर्माण गर्न लागिएको झोेलुङ्गे पुल निर्माणले गति लिएको छ ।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणको काम पछिल्लो समय तीव्ररुपमा अगाडि बढाइएको निर्माण कम्पनी त्रिशूली आश्रय जेभिले जनाएको छ । थपिएको समय अनुसार पनि गत वर्ष नै निर्माण सक्नुपर्ने भए पनि ठेकेदार कम्पनीको लापरवाहीका कारण केही समय अगाडिबाट मात्रै फेरि काम सुचारु भएको छ । थपिएको समय अनुसार पनि गत वर्षको असोजमा निर्माण सकिनुपर्ने पुलको देखिने गरी कुनै काम भएको छैन ।

नेपालकै लामो पुल मध्येको एक यो पुल सुस्ता–५ को पक्लिहवा स्थित सकरदिनही आसपासबाट सुरु भई पारी सुस्ताको घाटसम्म कुल एक हजार ५७१ मिटर लामो हुने छ । जसका लागि ६२ ओटा स्टान्ड पिलर हुने छन् । निर्माण सम्पन्न भएर दुई वर्ष अगाडि देखिनै सुस्ताबासी सहजै अवातजवात गर्नुपर्ने पुलको अहिले फेरि पूजाआजा गरी निर्माण कार्य सुचारु भएको जानकारी दिइएको छ ।

सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले पूजा गरेर रोकिएको निर्माण कार्य सुचारु गरिएको जानकारी दिए । निर्माण कम्पनीले प्रतिबद्धता जनाएर कामलाई तीव्रता दिएकाले अब दुई वर्षभित्र सुस्ता नेपाली भूमिसँग जोडिनेमा आफू विश्वस्त रहेको अध्यक्ष पाण्डेले बताए । निर्माण कम्पनीले अहिले पुल बनाउन जमिनमुनिको भागमा गर्नुपर्ने पाइलिङको कामलाई तीव्र पारेको छ । निर्माण कम्पनीले बितेका चार वर्षमा जम्मा ४३ ओटा मात्र पाइलिङ बनाउन सकेको छ । पुलका लागि कुल २२० ओटा पाइलिङ आवश्यक रहेको छ ।

यसैका लागि अहिले बंगाली कामदार मगाएर आधुनिक मेसिनको प्रयोग गरी काम भइरहेको इञ्जिनियर अशोककुमार मण्डलले जानकारी दिए । विगतमा विभिन्न समस्याका कारण झोलुङ्गे पुल निर्माणको कार्यले गति लिन नसके पनि अब भने दुई ढाई वर्ष भित्र निर्माण सक्ने गरी काम तीव्र पारिएको र आफूहरुका सबै निर्माण सामग्रीसमेत आइपुगेको इञ्जिनियर मण्डलले बताए ।

जमिनको भूबनोटका कारण पनि पहिले पुलको पाइलिङ गर्न समस्या भएका कारण अहिले आधुनिक मेसिनको प्रयोग गरी पाइलिङ निर्माण गर्न नयाँ उपकरण ल्याइएको मन्डलको भनाइ छ । बालुवासहितको जमिन भएकाले पाइलिङलाई मजबुत बनाउन समस्या भएको कामदारहरुको भनाइ छ । जसका लागि नेपाली कामदारले सबै काम गर्न नसक्ने भएकाले बंगाली कामदार पुल निर्माणका लागि ल्याइएको हो । ६ महिना भित्र पाइलिङ सकिने र त्यसपछि पुल निर्माणले देखिने गरी गति लिने निर्माण कम्पनीले जनाएको छ । २२ करोड ८० लाखमा ठेक्का सम्झौता भएको पुल महाकाली नदीमा रहेको नेपालकै लामो दोधारा चादनी झोलुंगे पुल भन्दा ११९ मिटर लामो रहेको छ ।

सुस्ता बासीका लागि सपनाको रुपमा रहेको पुल निर्माण हुन सके भारतीय अतिक्रमणको चपेटामा पर्दे आएका सुस्ताबासीलाई धेरै सहज हुने छ । डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य सुस्ताबासी पुल निर्माण भए सहजै आवातजवात गर्न सक्नेछन् भने गाँउपालिकासँग पनि प्रत्यक्ष सम्बन्ध स्थापित हुने छ । पुल नभएकै कारण वर्षायाममा डुंगासम्म नचल्दा भारतीय बाटो प्रयोग गर्देै आवतजवात गर्नुपर्ने बाध्यता रहेको छ । भारतको बाटो हुँदै आवातजावत गर्दा भारतको सीमा सुरक्षा बल एसएसबीले बेलाबखत नेपालीहरुलाई दुख दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>