कृषि

तरकारी बेचेरै छोरालाई इन्जिनीयरिङ पढाउँदै

Banner

शेरबहादुर सिंह

भीमदत्तनगर, मङ्सिर ३०-

कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती गर्न थालेको डेढ दशक भयो । धान, गहुँबाट भन्दा तरकारी खेतीमा बढी मुनाफा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गरेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका तुलसीरामले तरकारीबाटै छोराछोरीको पढाई र घर खर्च चलेको बताए।

एकचालीस परिवार राना थारुको बसोबास रहेको नयाँ कटानमा ३८ परिवारले आफूसित भएको खेतमा तरकारी फलाएर भीमदत्तनगर बजार, सब्जीमण्डी र स्थानीय बस्तीमा बिक्री वितरण गर्दै आएका छन । गत वर्ष तरकारीबाट रु दुई लाख आम्दानी भएको बताउँदै तुलसीरामले तरकारीबाटै आएको आम्दानीले माइलो छोरा कपिललाई भीमदत्तनगरमा इन्जिनीयरिङ विषय पढाइरहेको बताए । “जेठो छोरा मजदुरीका लागि वैदेशिक रोजगारीमा छ”, उनले भने, “माइलो र कान्छो छोरोको खर्च तरकारी बेचेरै टरेको छ ।”

उनले अहिले काउली, बन्दा, हरियो खुर्सीनी, बैगुन र रायोलगायतका तरकारी फलाएको बताए । “वर्षमा हिउँदे र लहरे गरी दुई पटक तरकारी खेती हुन्छ”, रानाले भने, “विगत वर्षको तुलनामा तरकारीले राम्रो मुल्य पाउँदै गएको छ ।”

विसं २०६१ देखि चार कठ्ठा बारीमा तरकारी खेती गर्दैआएका उनले तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट दुई पटक गरी रु १ लाख २० हजार अनुदान रकमसमेत पाएको बताए । “कृषि कार्यालयको सहयोगले पनि व्यावसायिक खेती गर्न प्रेरणा मिल्यो”, उनले भने, “समयक्रम अनुसार आधुनिक प्रणालीबाट खेती पनि गरिरहेका छौँ ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>