नवलपुर

आदिबासी र दलितको संख्या निरन्तर घट्दै, ‘थर’ परिवर्तनले समस्या आएको निष्कर्ष

Banner

ज्ञानु पंगेनी

नवलपुर, मंसिर २९

राष्ट्रिय जनगणनामा आदिवासी, जनजाति र दलित समुदायको तथ्यांकमा क्रमशः कमी आएकोले यस पटकको जनगणनामा यी समुदायको तथ्यांक विश्वसनीय हुनुपर्ने नवलपुरका जातीय अगुवाहरुले बताएका छन् ।

तथ्यांक कार्यालय चितवनको आयोजनामा आइतबार कावासोतीमा भएको राष्ट्रिय जनगणना–२०७८ को तयारी सन्दर्भमा जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामब्लोन तामाङले जनसंख्या वृद्धि हुँदै जानुपर्नेमा झन कमी हँुदै जाने कुरा आदिवासी जनजाति समुदायलाई मान्य नहुने बताए । उनले अब हुने जनगणना विश्वसनीय हुनुपर्ने बताए ।
यस्तै थारु कल्याणकारिणी सभा नवलपुरका अध्यक्ष रामप्रसाद महतोले तथ्यांकमा जातजातिको सही पहिचान हुने थरसमेत उल्लेख गर्ने व्यवस्था गर्न माग गरे । ‘गएका जनगणनाको क्रममा कतिपय गणकले तथ्यांक संकलन गर्दा थर मात्रै सोधेर आफै अनुमानमै जातजाति छुट्याउने गरेको पाएको थिएँ । अब त्यस्तो हुनु हुदैन, थरको पछाडि पहिचान झल्कने गरी थारु, मगर , गुरुङ , नेवार भनेर स्पष्टसँग छुट्टिने गरी लेखिनुपर्छ । ’

 जिल्ला समन्वय समितिकी उपाध्यक्ष शारदा विकले दलित समुदायको तथ्यांकमा पनि कमी हँुदै जानु थरकै कारण भएको बताइन् । कतिपय दलित समुदायको थर व्राम्हण क्षेत्रीसँग मिल्न जाने हुँदा गणकले ती कुरामा ख्याल गर्नुपर्ने र यस्ता विषयमा छुट्टै किसिमको प्रशिक्षण वा तथ्यांक संकलन फारममा नै व्यवस्था गर्नुपर्ने विकले बताइन् । यस्तै कार्यक्रममा सहभागी सरोकारवालाले जनगणनामा गणकका रुपमा सेवानिवृत्त राष्ट्रसेवक कर्मचारी, बेरोजागार युवाहरु र महिलालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । यस्तै जनगणनामा बेरोगारको तथ्यांक संकलन गर्ने कुरा आए पनि रोजगार कति ? उद्योगी व्यवसायी कति ? भन्ने कुरा उल्लेख नगरिएकाले ती कुरा पनि उल्लेख गर्न माग गरिएको छ । जनगणनाको तथ्यांकलाई आधार मानी विकास निर्माणका काम हुने भएकाले यसलाई हरेक तह र तप्काबाट विश्वसनीय बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका थिए । जनगणनामा स्थानीय तहलाई समन्वयकारी भूमिका मात्रै नभई जिम्मेवारी नै प्रदान गर्नुपर्ने समेत उनीहरुको विचार थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले जनगणनामा वास्तविक तथ्यांक आउन नसके हरेक काममा असहज हुने भएकाले स्थानीय तहलाई पनि गणनाको जिम्मेवारी प्रदान गर्न आवश्यक रहेकोमा जोड दिए । स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो गाउँठाउँलाई राम्ररी बुझ्ने भएकाले स्थानीय तहलाई परिचालन गर्न सके वास्तविक तथ्याङ्क आउन सक्ने उनको भनाइ थियो ।

तथ्यांक कार्यालय चितवनका तथ्यांक अधिकृत यज्ञमूर्ती भण्डारीले कार्यक्रममा आफ्नो प्रस्तुतिकरण राख्दै आउँदो माघबाट जनगणनाको पाइलट सर्वेक्षण सञ्चालन गरिने जानकारी दिए । उनले अबको जनगाणनामा बहु मोडल विधि मार्फत् गणना गर्ने तयारी गरिएको समेत बताए । गएका वर्षहरुमा कागजी प्रश्नावलीबाट मात्रै तथ्याङ संकलन गर्ने काम गरिएकोमा अब नेट, कागज र ट्याबबाट समेत गणना गर्ने तयारी गरिएको उनले जानकारी दिए । नेटको सुविधा हुने ठाउमा प्रविधिको प्रयोग गरिने उनको भनाइ थियो । उनले जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको अवस्था र प्रयोग गरेको जग्गा, शिक्षा, श्रम गर्नसक्ने जनशक्ति विषयमा पनि तथ्याङ्क संकलन गरिने जानकारी दिए । त्यसैगरी प्रजनन् दर, अपाङ्गता, बसाइँसराइ, भविष्यमा हुने जनसंख्याको आँकलनलगायतका विषयमा पनि तथ्याङ संकलन गरिने उनले बताए । त्यसैगरी जातजाति, धर्म, मातृभाषा, दोस्रो भाषा र नेपालमा बसोबास गर्ने विदेशी नागरिकको पनि तथ्यांक संकलन हुने बताए । वैवाहिक स्थिति र पहिलो विवाह हुँदाको उमेर, अपांगता भएका व्यक्तिको विवरण, शिक्षा तथा साक्षरता, जन्मस्थल तथा बसाइँसराइ, महिलाको प्रजनन् स्थिति, आर्थिक क्रियाकलाप बारेमा पनि तथ्यांक लिइने उनले जानकारी दिए ।

तथ्यांक संकलनपछि गरीबीको दर, मानव विकास सूचकांकका सूचक, बहुआयामिक गरिबी सूचांक, रोजगारी तथा बेरोजगारी दर, कुपोषण, गर्भ निरोधको साधन प्रयोगदर, प्रतिव्यक्ति आय, विभिन्न आर्थिक, सामाजिक तथा वातावरणसम्बन्धी सूचक जानकारी लिन सकिने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>