क्रिकेट
पीपीएलः काठमाडौंविरुद्ध पोखरा पल्टनको शानदार जित

पोखरा, मंसिर २९–
आजदेखि सुरु भएको पोखरा प्रिमियर लीग (पीपीएल) टि–२० क्रिकेटमा घरेलु टोली पोखरा पल्टनले शानदार जित हासिल गरेको छ । पोखरा रंगशालामा भएको समुद्घाटन खेलमा पोखरा पल्टनले काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले पराजित गर्यो ।
पोखराको जितमा कुशल भुर्तेल नायक बने । उनले ६५ रनको अविजित अर्धशतकिय पारी खेले । ४३ बल खेलेका कुशलले ५ छक्का र ४ चौका प्रहार गरे । यस्तै विदेशी खेलाडी रवि इन्दर सिंहले ३८ रनको अविजित पारी खेले । यी दुईले ८८ रनको अविजित साझेदारी गरेका थिए । काठमाडौंले दिएको ११६ रनको लक्ष्य पछ्याएको पोखराले १४.१ ओभरमा एक विकेट गुमाउँदै ११९ रन बनाउँदै जित हासिल गरेको थियो । पोखराका आशिफ शेख १४ रनका आउट भए । काठमाडौंका लागि सुशन भारीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको काठमाडौंले ८ विकेट गुमाउँदै ११५ रन जोडेको थियो । उसका लागि विदेशी खेलाडी सुवोध भाटीले सर्वाधिक ४५ रन बनाए । अन्य व्याट्सम्यानले उल्लेखीय प्रदर्शन गर्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल एक रनमै आउट भएका थिए ।
























