अन्तर्राष्ट्रिय

७३ वर्षीया धावक रोजी बेलायतबाट दौडेर नेपाल आउदै

Banner

एजेन्सी 

बेलायतकी लेखिका एवं धावक ७३ वर्षीया रोजी स्वाले पोप दौडेर नेपाल आउने भएकी छिन् । उनले बालबालिकालाई सहयोग पैसा जम्मा गर्ने उद्देश्यले यो काम सुरु गरेकी हुन् । नेपालमा स्वास्थ्य, शिक्षा र आहारमा सहयोग पुर्याउने उनको योजना छ ।

जुलाई २०१८ मा बेलायतको ब्रिङग्टोनबाट नेपाल हिँडेकी रोजीले ६ हजार माईल दौड पुरा गरेर १२ वटा देश पार गरिसकेकी छिन् । उनी अहिले टर्कीको इस्तानबुल आइपुगेकी छन् ।उनी दैनिक औसत १२ दशमलव ४ माइल दौडिन्छिन् । उनलाई आफू कहाँ सुत्ने भन्ने थाहा हुँदैन् । दौडिदै जहाँ पुग्छिन्, त्यहीँ सडक तथा खेतमा सुत्ने गरेको उनी बताउँछिन् ।

उनको यो साहसिक यात्रा पहिलो भने होइन् । १९७१ मा उनले श्रीमान र छोराछोरीसहित विश्व भ्रमण गरेकी थिइन् । त्यसबेला उनीहरुले ३० हजार माइल यात्रा पूरा गरेका थिए ।
त्यसको एक दशकपछि १९८३ मा उनी एक्लैले एटलान्टिक सागरको यात्रा गरिन् । ७० दिनको यात्रामा उनले ४,८०० माइल पूरा गरेर आफ्नै रेकर्ड तोडिन् ।

सन् २००२ मा प्रोस्टेस्ट क्यान्सरबाट श्रीमानको मृत्यु भएपछि उनले दौडिन सुरु गरिन् । दौडले श्रीमानको मृत्युको सामना गर्न सहज भएको रोजी बताउँछिन् । सन् २००३ बाट उनले पाँच वर्षसम्म विश्वभर दौडिइन् । उनले युरोप, एसिया र उत्तर अमेरिकामा लगभग २० हजार माइल दौड गरिन् र उनले रसियन अनाथाश्रमका लागि पैसा संकलन गरिन् । यस समयमा उनले २५ लाख पाउण्ड रकम संकलन गरेकी थिइन् ।

त्यसपछि २०१० मा २७ दिनसम्म २७ वटा म्याराथनमा सहभागी भइन् र बेलायतमा बालबालिकाको हेरचाह गर्ने संस्थाका लागि पैसा संकलन गरिन् । सन् २०१५ मा उनी न्युयोर्कबाट सान फ्रान्सिस्को सम्म सोलो दौड गरिन् । क्यान्सर रिसर्चसम्बन्धी जनचेतना जगाउने र पैसा संकलन गर्ने काम गरिन् ।

रोजी इस्तानबुलबाट छिटै जर्जिया पुग्नेछिन् । सामाजिक सञ्जालहरुमा उनले आफ्नो तस्बिर सेयर गरेकी छन् । उनी कहाँ आइपुगिन् भनेर स्याटलाइटबाट पनि हेर्न सकिन्छ । टर्कीबाट क्यास्पियन सागर पार गर्दै उनले काश्मिर र नेपालका विद्यालयहरुमा पुग्नुभन्दा अगाडि पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेट्ने छिन् ।

उनको यो यात्रा किताब प्रकाशकहरुसँग भेट्न बर्लिन पुगेपछि सुरु भयो । फेज वल्र्डवाइड नेपालबाट पाएको भद्र प्रेरणापछि उनले काठमाडौंसम्मका लागि आफ्नो यात्रा तय गरिन् । फेज वल्र्डवाइडले नेपालको दुर्गम भेगका बासिन्दाका लागि खाना, शिक्षा, स्वास्थ्यमा सहयोग पुर्याउँदै आएको छ ।

स्वीट्जरल्याण्डको डावोसमा जन्मिएकी रोजीको बुवा रोनी ग्रिफिन बेलायती सैनिक थिए । सानैमा आमाको मृत्यु भएपछि उनको हुकाई हजुरआमासँग भयो । १८ वर्षको उमेरमा पत्रिकामा संवाददाताको काम गर्न सुरु गरेकी उनले त्यही समयदेखि नै साहसिक विश्वयात्रा प्रारम्भ गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>