चितवन विशेष
देवघाटमा कन्या गुरुकुल बनाउन एक करोड ९० लाख संकलन

चितवन, मंसिर २१-
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि भरतपुरमा आयोजित महायज्ञ आज सकिएको छ ।
देवघाटमा समावेशी कन्या गुरुकुल निर्माणका लागि गत मंसिर १३ देखि भरतपुर १२ पोखरेली टोलमा श्रीमद् भागवत महापुराण धनधान्याचल विराट ज्ञान महायज्ञको आयोजना गरिएको थियो ।
सो महायज्ञ समापनमा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सुवेदीले स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता राज्यले निःशुल्क प्रदान गर्नुपर्ने भए पनि संस्थाहरुले त्यसको जिम्मा लिनु सुखद् विषय भएको बताए । संघसंस्थाहरुले गर्ने शैक्षिक कार्यक्रममा सरकारले सहयोग गर्नुपर्ने सुवेदीको भनाइ थियो । पछिल्लो समय वैदिक सनातन धर्म हराउँदै गएको अवस्थामा संस्कृत शिक्षा मार्फत् यसको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने सुवेदीले बताए ।
सो महायज्ञबाट शनिबार अन्तिम दिनसम्म एक करोड ९० लाख रुपैयाँ संकलन भएको महायज्ञ आयोजक समितिका सहसचिव उद्धव सञ्जेलले बताए । सञ्जेलका अनुसार शनिबार मात्रै ओम शिवक्ति कल्याणी केन्द्रका संस्थापक महासचिव लक्ष्मणसिंह श्रेष्ठले १० लाख रुपैयाँ प्रदान गरेका छन् । महायज्ञबाट संकलन भएको रकमबाट पवित्र तीर्थस्थल देवघाटधाममा १२ रोपनी क्षेत्रफलमा आवाससहितको कन्या गुरुकुल सञ्चालन गर्ने तयारी गरिएको महायज्ञ मूल समिति संयोजक रवीन्द्र अधिकारीले जानकारी दिए । कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ गराइने अधिकारीले बताए ।
गुरु योजनाअनुसार सम्पूर्ण निर्माण सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने भए पनि पहिलो चरणमा चार करोड रुपैयाँ भएपछि कक्षा सञ्चालन गर्न सकिने अधिकारीले बताए । पछिल्लो समय वैदिक सनातन धर्म र संस्कृतिमाथि हस्तक्षेप भइरहेकाले भन्दै गुरुकुल शिक्षामार्फत् यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको अधिकारीको भनाइ छ । महायज्ञमा बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन् एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागार्इँबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कल्याणीबाट आशिर्वचन प्रदान भएको थियो ।
























