क्रिकेट
साग पुरुष क्रिकेटः बंगलादेशसंग नेपाल ४४ रनले पराजित, स्वर्ण पदक जित्ने सपना तुहियो

काठमाडौं, मंसिर २१–
साग पुरुष क्रिकेट अन्तरगत नेपाली टोली बंगलादेश यु २३ संग ४४ रनले पराजित भएको छ । बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपाल ९ विकेटको क्षतिमा १११ रन मात्रै जोड्न सक्यो । यो संगै सागमा क्रिकेट तर्फ स्वर्ण पदक जित्ने नेपालको सपना तुहिएको छ ।
नेपालको ओपनिङ व्याटिङ आज पनि चलेन । पूर्व कप्तान पारस खड्का ९ रनमा मात्रै आउट भए । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । यस्तै अभिनास बोहराले १३, दीपेन्द्र सिंह ऐरीले १६ रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि व्याटिङ गरेको बंगलादेश निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५५ रन जोड्यो । उसका लागि कप्तान नजमुल हुसेन सान्टोले अविजित ७५ र अफिफ होसेनले ५२ रन जोडे ।
नेपालका लागि पारस खड्काले ३, दीपेन्द्र सिंह ऐरीले २ र अभिनास बोहराले एक विकेट लिए ।


























