Uncategorized

नवलपुरको कावासोतीमा वन्यजन्तुको क्षति रोक्न पर्खाल

Banner

दयाराम आचार्य

कावासोती,  मङ्सिर २०-

 

वन्यजन्तुको क्षति रोक्नका लागि कावासोती नगरपालिकाले लगानी बढाएको छ । सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पु¥याउन थालेपछि नवलपरासी पूर्वनवलपुरको सो नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि विशेष पहल थालेको हो ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिकाका सात वडाको झण्डै २० किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेसजाली लगाउने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ । सोहीअनुरुप अहिले पर्खालसहितको जाली लगाउने कामसमेत चलिरहेको छ । सधैँजसो बस्तीमा आउने वन्यजन्तुले नगरपालिकाअन्तर्गत पर्ने स्थानीय बासिन्दाका बालीनालीमा क्षति पु¥याउने, मान्छेलाई समेत आक्रमण गर्ने घटना हुने गरेका कारण सो रोक्नका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्य गरिरहेको नगर प्रमुख चन्द्रकुमारी पुनले बताए ।

नगरपालिकाले चालू आर्थिक वर्षमा मात्रै सात वडामा वन्यजन्तुको क्षति न्यूनीकरणका लागि रु सात करोड विनियोजन गरेको छ । सोही रकममध्येबाट हाल रु पाँच करोड ५० लाख बराबरको काम सञ्चालन भइरहेको नगर प्रमुख पुनले बताए । तीन फिट अग्लो पर्खाल र पर्खालमाथि थप तीन फिट जाली लगाउने काम अहिले वन्यजन्तु प्रभावित क्षेत्रमा भइरहेको छ । नगरपालिकाअन्तर्गत मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा ७, १०, ११, १२, १३, १५ र १७ वन्यजन्तुका कारण प्रभावित रहेका छन् । यहाँका बासिन्दाले लगाएको बालीमात्र नभई आफ्नै ज्यानसमेत जोखिममा रहेको गुनासो गर्दै आएका कारण नगरपालिकाले विशेष पहल गरी वन्यजन्तुको क्षति रोक्न लागिपरेको नगर प्रमुख पुनले बताए ।

गत वर्ष नगरपालिकाकै लागतमा झण्डै दुई किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेस जाली लगाउने काम सम्पन्न भएको छ । विगतका वर्षमा समेत नगरपालिकाले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि बजेट विनियोजन गरी पर्खालसहितको मेसजाली राख्ने काम गरेको थियो । चालू आर्थिक वर्षमा भने नगरपालिकाले बजेट मात्र बढाएर काम गरिरहेको छ । अहिले करीब सात किलोमिटरको क्षेत्रफलमा पर्खालसहितको मेस जाली निर्माण गर्ने काम सकिने नगर प्रमुख पुनले बताएका छन् ।

यस क्षेत्रमा मध्यवर्ती क्षेत्र र डिभिजन वनलेसमेत झण्डै पाँच किलोमिटर क्षेत्रमा पर्खाल सहितको मेस जाली निर्माण गरेका छन् । चालू आर्थिक वर्षसम्ममा करीब १४ किलोमिटर क्षेत्रफलमा पर्खाल बनाउने काम सकिने नगर उपप्रमुख पे्रमशङ्कर मर्दनिया थारुले बताए । अब नगरपालिकाअन्तर्गत वन्यजन्तु प्रभावित क्षेत्रमा करीब छ किलोमिटर क्षेत्रमा पर्खाल लगाउने काम बाँकी रहने उनले बताए । बाँकी रहेको क्षेत्रमा पनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी पर्खाल लगाउने काम गरिने उनले बताए ।

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतारसहित विद्युत् अर्थिङ लगाइएकामा त्यसलाई समेत नाँघेर, चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पर्खालसहितको मेस जाली निर्माण थालिएको उनले जानकारी दिए । सोको निर्माणपछि वन्यजन्तु बस्ती प्रवेश गर्न नसक्ने र मध्यवर्ती क्षेत्रका बासिन्दालाई राहत मिल्ने उपप्रमुख मर्दनिया थारुले बताए । यस क्षेत्रमा निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रमा अन्नबाली, चौपाया र मानिसमा समेत क्षति पु¥याउँदै आएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>