चितवन विशेष
चितवनका तीनवटै वडाको जित महाभारत होइन, सुरुवात होः सभापति श्रेष्ठ

चितवन, मंसिर १९–
नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले उपनिर्वाचनको नतिजा सुरुवात मात्रै भएको बताएका छन् ।
यही मंसिर १४ गते भएको उपनिर्वाचनमा तीन वटै वडामा काँग्रेसबाट विजयी भएका उम्मेद्वारका लागि भरतपुरमा आज (बिहीबार) आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले वडाको जितलाई महाभारतको रुपमा लिन नहुने बताए । उनले भने–‘हामी उपनिर्वाचन जित्छौं भनेर लागेका थियौं जित्यौं पनि, यो जित महाभारत होइन, सुरुवात मात्रै हो ।’
जिल्ला सभापति श्रेष्ठले चितवनमा काँग्रेस कहिल्यै पनि कमजोर नभएको भन्दै उपनिर्वाचनको परिणामले पुष्टि गरेको बताए । ‘चितवनमा काँग्रेस बलियो नै छ, चितवनका काँग्रेस दायाँबायाँ चुनावमा भोट हाल्दैन भन्ने संकेत हो यो’–जिल्ला सभापति श्रेष्ठले भने । उनले वडाबाट सर्वसम्मत उम्मेद्वार चयन हुँदा पार्टी विजयी बनेको भन्दै स्थानीयस्तरमै पार्टी बलिया बन्नुपर्नेमा जोड दिए ।
यस्तै सभापति श्रेष्ठले विजयी वडाध्यक्षहरुलाई बधाइ दिँदै वडाध्यक्षहरुको काम र निर्णयले नै पार्टीलाई फाइदा या बेफाइदा हुने भएकाले जनताको सेवामा लाग्न आग्रह गरे । उनले भने–‘उपनिर्वाचनबाट जितेकाबाट जनताले धेरै आश गरेका छन्, तपाईहरुको काम र व्यवहारले नै जनताले पार्टीलाई विश्वास गर्ने हो, यसमा सजग रहनु होला ।’
























