क्रिकेट
साग महिला क्रिकेटः बंगलादेशसंग नेपाल १० विकेटले पराजित

पोखरा, मंसिर १८–
पोखरामा जारी साग महिला क्रिकेटमा बंगलादेशसँग घरेलु टोली नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमले खराब ब्याटिङ गरेपछि हार व्यहोर्न बाध्य भयो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाली महिला टिम १९ं२ ओभरमा ५० रनमै अलआउट भयो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । स्कोरबोर्डमा एक रन पनि नहुँदा पहिलो विकेट गुमाएको नेपालले सात रन हुँदा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि २७ रनमा बनाउँदा तेस्रो विकेट गुमाएको नेपालले ४३ रन बनाउँदा पाँच विकेट खेर फाल्यो ।
नेपालका लागि ओपनर काजल श्रेष्ठले खाता खोल्न सकिनन् भने सिता रानामगरले तीन तथा सोनु खड्काले १२ रन बनाइन् । यस्तै, रुविना क्षेत्रीले १३ रन बनाउँदा ममता चौधरी मात्र एक रनमा पेभेलियन फर्किइन् ।
५१ रनको लक्ष्य पछ्याएको बंगलादेशले बिना विकेटको क्षतिमा ७.१ ओभर लक्ष्य पूरा गर्यो । बंगलादेशको जितमा आयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रन बनाइन् ।


























