चितवन विशेष
देवघाटमा कन्या गुरुकुल बनाउन भरतपुरमा महायज्ञ

चितवन, मंसिर १३–
चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल देवघाटमा कन्या गुरुकुल निर्माण गर्नको लागि भरतपुरमा धनधान्याचल एवम् सप्ताह ज्ञान महायज्ञ शुरु गरिएको छ ।
महायज्ञको आज (शुक्रबार) उद्घाटन गर्दै ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले वर्तमान समयमा समावेशी शिक्षाको आवश्यकता रहेको बताए । राम्रो काम, सकारात्मक काम गर्ने सबैसँग मिल्ने, सामाजिक एकता कायम गर्ने कामका लागि सबै तयार हुनुपर्ने लामाले बताए । देवघाटमा सञ्चालन हुने समावेशी कन्या गुरुकुलबाट महिलाहरु समाजमा वेद पढ्न मात्रै नभएर देश चलाउन समेत सक्षम हुने लामाको भनाइ थियो ।
नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका नारीहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा प्रदान गर्न ॐ शिवशक्ति कल्याणी केन्द्र भरतपुरको आयोजनामा महायज्ञ सुरु गरिएको संयोजक रवीन्द्र अधिकारीले बताए । कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करीब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ हुने अधिकारीले बताए ।
आजदेखि सुरु भएको महायज्ञ मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ । सो कार्यक्रममा पूर्व राज्य सावित्री बोगटी पाठक, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरे, ॐ शिवशक्ति कल्याणी केन्द्रकी अध्यक्ष रमा कार्कीलगायतले मन्तव्य राखेका थिए । श्रीमद् भागवत महापूराण धनधान्याच विराट ज्ञान महायज्ञ मूल समारोही समितिका संयोजक रवीन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक बालसन्त कल्याणी दाशले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
महायज्ञ अवधिभर बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृवष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट सधाु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कयाणीबाट आशिर्वचन प्रदान हुने आयोजकले जनाएको छ ।
























