चितवन विशेष
उपनिर्वाचनः भरतपुर १६ मा पाँच जनाको उम्मेद्वारी (नामावलीसहित)

चितवन, कार्तिक २७–
आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज (बुधबार) चितवनमा मनोनयनपत्र दर्ता भएको छ । भरतपुर वडा नं.१६, खैरहनी नगरपालिका वडा नं.४ र ५ मा हुने उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको हो ।
भरतपुर–१६ मा वडा अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यहाँ सत्तारुढ दल नेकपाबाट भक्तराज हमालले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नारायणप्रसाद अधिकारी र समर्थकमा बद्रीप्रसाद चापागाइ रहेका छन् ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट अमृतराज हमालले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा सुरविर पोखरेल र समर्थकमा यमबहादुर गुरुङ रहेका छन् । यस्तै सरकारमै रहेको समाजवादी पार्टीका तर्फबाट अम्मर बहादुर थापाले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा गणेशबहादुर खत्री र समर्थकमा पुष्पकुमार श्रेष्ठ रहेका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का तर्फबाट विष्णुप्रसाद त्रिपाठीले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा धनबहादुर थापा मगर र समर्थकमा सुजन थापा रहेका छन् ।
त्यस्तै राष्ट्रिय नागरिक पार्टीका तर्फबाट धनप्रसाद घलेले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा पुनुमाया महर्जन र समर्थकमा जोकबहादुर तामाङ रहेका छन् ।
भरतपुर–१६ मा उम्मेद्वारी परेका सबै पुरुष मात्रै छन् । भरतपुर १६ का तत्कालिन अध्यक्ष चतुरबहादुर गुरुङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । मनोनयनपत्र दर्ताको कार्यक्रम विहान १० बजेदेखि दिउँसो १ बजेसम्म रहेको थियो ।
























