खैरहनी

चितवनको बिस्कुट कम्पनीमा चरम श्रम शोषण, श्रमिकहरु आन्दोलनमा

Banner

चितवन, कात्तिक २६-

चितवनको खैरहनी–५ मा रहेको बिस्कुट कम्पनी खजुरीको नेपाल प्रालिले श्रमिक महिलाहरुको चरम श्रम शोषण गरेको पाइएको छ ।

बिस्कुट उत्पादन गर्ने प्लान्टमा काम गर्ने महिला श्रमिकहरुले कम्पनीले चरम श्रम शोषण गरेको भन्दै आन्दोलित भएपछि सो तथ्य खुलेको हो । कम्पनीमा सबै कामदारहरु महिला मात्रै हुने गरेको आन्दोलनमा सहभागी रत्ननगर–१६ की ईन्दिरा देवकोटाले जानकारी दिइन् । उनले २६७ जना महिला श्रमिक मध्ये १४२ जना आन्दोलनमा रहेको बताउँदै केहीलाई कम्पनीका सुपरभाइजरले जबरजस्ती काममा लिएर गएको बताइन् ।

आन्दोलनमानै रहेकी रत्ननगर–१४ की लक्ष्मी रानाभाटले कम्पनीले तीन सिफ्टमा बिहान ९–५, बेलुका ५–१, राति १–९ मा काम गर्ने भनेर महिलालाई काममा लगाएको भए पनि दैनिक १२ देखि १४ घण्टासम्म काममा लगाउने गरेको तर तलब भने विभिन्न बहाना बनाई थोरै दिने गरेको बताइन् । हाल सो कम्पनीमा खैरहनी, रत्ननगर, राप्ती नगरपालिकाका महिलाहरुले काम गर्ने गरेको पाइएको छ ।

आन्दोलनमा उपस्थित सबैले सुरुमा एग्रिमेन्ट पेपर पनि हेर्न नदिई हस्ताक्षर मात्रै गराई काममा लगाउने र तलब १३ हजार ५०० रुपैयाँ तलब भन्ने तर तलब दिँदा भने नौं हजार मात्रै दिने गरेको जानकारी दिए । रत्ननगर–४ कि छाया चौधरीले लगातार १२ देखि १४ घण्टा उभिएर काम गर्दा कोही बेहोस नै हुन्छन् तर कम्पनीले अस्पताल पनि नलाने गरेको बताउँदै बिरामी बिदा, क्रिया बिदासमेत नपाउने गरेको बताइन् ।

आन्दोलनरत महिला श्रमिकले काममा लगाउने सुपरभाइजर सबै महिलानै भए पनि कामदारलाई भने साह्रैनै हेप्ने गरेको बताए । सुपरभाइजरले कम्पनीमा महिला श्रमिकहरुलाई हदै सम्मको ज्यादती गर्ने गरेको उनीहरुको आरोप छ ।
आन्दोलनरत श्रमिकले सो कम्पनीका महाप्रबन्धक सूर्यप्रसाद न्यौपानेलाई आफ्ना मागको बारेमा जानकारी गराउँदा बरु काम छोड्न भन्ने गरेको जानकारी दिए । उनीहरुले भने, ‘हामीले यो विषयमा महाप्रबन्धक न्यौपानेलाई कम्पनीमानै भेट्न खोज्दा भित्र छिर्न दिएनन् भने हामीले उनलाई गरेको फोन पनि उठाएनन् । त्यसपछि हामीले उनलाई म्यासेज पनि ग¥यौं तर सोको जवाफ पनि उनले दिएनन् । यसको अर्थ पनि हामीलाई लाग्छ कि समस्या कम्पनीमा नै छ र सो कुरा बाहिर आउँछ भनेर उनले हामीलाई बेवास्ता गरे ।

आन्दोलनरत महिलाका माग पूरा नभएको कारणले गर्दा आइतबार दिउँसो ३ बजेदेखि उनीहरु आन्दोलनमा छन् । उनीहरुको माग नेपाल सरकारले श्रम ऐनमा तोके अनुसारको सेवा सुविधा हनुपर्ने रहेको छ ।  महिलाको आन्दोलनमा साथ दिन आएका रत्ननगर जिफन्टका संयोजक शंकर खनालले भने ‘उद्योग सञ्चालन गर्ने सञ्चालकले कम्तीमा पनि श्रम ऐनले तोकेको सेवा, सुविधा मजदुर तथा कर्मचारीलाई दिनुपर्छ अनि मात्रै कम्पनी सञ्चालन गर्नु पर्छ भन्ने कुरा उद्योगपतिले बुझ्नुपर्छ ।’
खजुरीको कम्पनी देशकै नाम चलेको कम्पनीमा पर्छ । जसले भिटामिन, ग्लुकोज, चोकोज चोको, टायल कुकिज, चेरी कुकिज नाम राखेर बजारमा बिस्कुट उत्पादन गरी विक्री बितरण गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>