चितवन विशेष

दर्शको चाप बढेपछि नारायणी महोत्सव पाँच दिन थपियो

Banner

चितवन, कात्तिक २५-

सुरुवातमा दर्शकको न्यून उपस्थिति रहेको भए पनि पछिल्लो समय दर्शकको चाप बढ्दै गएपछि नारायणी महोत्सव पाँच दिन थप गरिएको छ ।

आयोजक संस्था रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारका अनुसार दर्शकहरुको उपस्थितिलाई मध्यनजर गर्दै महोत्सव पाँच दिन थप गरिएको हो ।  अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ नारायणी नदी किनारमा सञ्चालन गरिएको महोत्सवमा सोमबारसमेत १२ हजार बढी दर्शकहरुले अवलोकन गरेको राजकर्णिकारले बताए । शुक्रबारदेखि महोत्सवमा दर्शकहरुको उपस्थिति बढ्दै जाँदा र महोत्सव भित्रका व्यवसायीको चाहनाका कारणसमेत महोत्सवलाई पाँच दिन थप गरिएको हो ।

महोत्सव थप गरिएसँगै महोत्सवको सांगीतिक कार्यक्रममा आउने कलाकारसमेत थप गरिएको छ । पाँच दिन थप गरिएको महोत्सवमा काउली बुढी, कमल खत्री, दुर्गेश थापा, कमला घिमिरे तथा पशुपति शर्मा आउने तयारी भएको सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए ।

भोलि मंगलबार भने काउली बुढीको प्रस्तुति रहने अधिकारीले बताए । आज सोमबारको सांस्कृतिक कार्यक्रममा ज्योति मगर र मिलन लामाले प्रत्यक्ष दोहोरी गाएर दर्शकलाई नचाएका थिए । कात्तिक १५ देखि सञ्चालन गरिएको महोत्सवको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानमा हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुले शिक्षादीक्षा सँगै निःशुल्करुपमा औषधिउपचार समेत गर्दै आइरहेका छन् ।

विभिन्न व्यवसायिक स्टलहरुका साथै बालउद्यानसमेत राखिएको महोत्सवमा ¥याफ्टिङ गर्ने सुविधासमेत रहेको छ । रेविका बाल प्रतिष्ठानले गरेको नारायणी महोत्सव–२०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्रालि रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटीभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>