चितवन विशेष
सरकारी गाडी र एम्बुलेन्स चालकलाई भरतपुरमा प्रशिक्षण

चितवन, कात्तिक २४-
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सरकारी कार्यालका गाडी चालक र एम्बुलेन्स चालकलाई एकदिने प्रशिक्षण दिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार आयोजित प्रशिक्षणको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उद्घाटन गरेका हुन् । उनले चालक आफै गैरजिम्मेवार भएकाले सवारी दुर्धटना हुने गरेको बताए । सवारीसाधन चलाउदा ध्यान दिएर चलाउनु पर्नेमा मौसम र सडकको अवस्थाका बारेमा ध्यान नदिँदा धेरैले ज्यान गुमाउनु परेको उनले बताए । डल्लाकोटीले सरकारी र एम्बुलेन्स चालक धेरै जिम्मेवार हुँनुपर्नेमा जोड दिए । सरकारी चालकले गल्ती गरे अरुले पनि त्यही सिक्ने र ट्राफिक व्यवस्थापन झन् भद्रगोल हुने उनको तर्क थियो । उनले कानुनको दृष्टिकोणमा सबै समान रहेको भन्दै कोही सानो र ठूलो नहुने बताए ।
प्रदेश नम्बर ३ का ट्राफिक प्रमुख प्रकाश रानाभाटले सडक सभ्यता विकास गर्न शिक्षाका लागि प्रशिक्षण आयोजना गरेको जानकारी दिए । उनले राज्यले बनाएको कानुन पालना गर्दिन भन्ने छुट कसैलाई नभएको बताए । उनले चालक र ट्राफिक मिलेर नै दुर्घटना न्यूनीकरण गर्न सकिने धारणा राखे ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले ओभरटेक गरेर हिरो सम्झने चालकले दुई मिनेट कुर्न नसक्दा डरलाग्दा घटना हुने गरेको बताए । सवारीसाधन दुर्घटना रोक्नका लागि चालकसँगै यात्रु पनि सजक हुनुपर्नेमा गिरीले जोड दिए । चितवनका विभिन्न कार्यालयका सरकारी सवारीसाधन र एम्बुलेन्सका करिब १०० सवारी चालकको सहभागिता रहेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कुष्ण ठकुरीले प्रशिक्षण दिएका थिए ।
























