समाज

बागीश्वरीको गौ संरक्षण केन्द्रमा सामूहिक गौपूजन

Banner

कृष्ण आचार्य,

चितवन,कात्तिक १०-

भरतपुरको वागीश्वरीमा आज सामूहिक गौ पूजन गरिएको छ । भरतपुर महानगरपालिका १ स्थित देवघाट क्षेत्रमा पर्ने बागीश्वरी आध्यात्मिक परिषद योगी नरहरीनाथ गौ संरक्षण केन्द्रमा गौ पूजन गरिएको हो । यमपञ्चकको तेस्रो दिन मनाईने गाई पुजाको लागि भक्तजनको घुईचो लागेको थियो । गौ संरक्षण केन्द्रले वर्षेनी सामूहीक गौ पूजन कार्यक्रमको आयोजना गर्दै आएको छ ।

गाई पुजा गर्न चितवन र नवलपुरका विभिन्न क्षेत्रबाट मानिसहरु आएका थिए । बजार क्षेत्रमा गाई पालन नहुने भएपछि गाई पुजा गर्नेहरु बागेश्वरी पुग्ने गरेका छन् । पबित्र तिर्थस्थल देबघाटको प्रबेश मार्गमा रहेको केन्द्रमा लोपोन्मुख स्थानिय जातका १ सय ५० गाई संरक्षणका लागि पालिएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गाईको पुजा गरि गौ पुजनको सुरुवात गर्नुभएको थियो । उहाँले गौ संरक्षणका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । बागीश्वरी क्षेत्रको संरक्षण र संबद्र्धनका लागि आफूले सक्दो प्रयास गर्ने उहाँको प्रतिबद्धता छ ।

घरघरमा गाई पाल्न छाडेकाले यसको महत्व ह्रास आउनसक्ने भएकाले सबैलाई जानकारी प्रदान गर्न सामुहिक गौ पूजन कार्यक्रम आयोजना गरिएको गौ संरक्षण केन्द्रका प्रमुख संरक्षक योगी श्रीसनाथले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘मानिस प्राकृतिक अनुकुलन वातावरणमा रहनुपर्छ,गाईबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’ उहाँले गाईको मुत्रबाट क्यान्सर, मुटुरोग, मधुमेह लगाएतका अधिकांस रोगलाई निर्मुल पार्न सकिने उल्लेख गर्नुभयो ।

बागेश्वरीमा गोवद्र्धन पुजा पनि गरिएको छ । गोवद्र्धन पर्वत नै बनाएर पुजा गरिएको थियो । धार्मिक दृटिकोणले गाईको महत्व रहेकोले पनि गौ संरक्षण केन्द्रको सम्वर्धनका लागि पनि वर्षेनी गौ पुजन कार्यक्रम गरिदै आएको बागीश्वरी आध्यात्मिक परिषदका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । सरकारले नै चितवनको वागिश्वरीसंगै पशुपतीनाथ र स्वर्गद्धारीमा रहेका गौलाई राष्ट्रिय गौ संरक्षण केन्द्रमा सुचिकृत गरेको उहाँले बताउनुभयो ।

२०४९ सालमा बागीश्वरीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । सुरुमा ६ वटा गाई पालेर योगी नरहरीनाथले गौ संरक्षण केन्द्र स्थापना गर्नुभएको गौ संरक्षण केन्द्रका संस्थापक संयोजक कृष्णहरी देवकोटाले जानकारी दिनुभयो । स्थानिय जातका गाई संरक्षण गर्नुपर्छ भन्ने उदेश्यका साथ गौ सरक्षण केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । योगी नगरहरी नाथको भनाई स्मरण गर्दै देवकोटाले भन्नुभयो, गाईमार्फत नेपाललाई विश्वमा चिनाउनुपर्छ,स्थानिय जातका गाई लोप हुनबाट जोगाउनुपर्छ ।

सो अवसरमा भोजनालय तथा सचिवालयको भवन समेत समुद्घाटन गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य रिना गुरुङ,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान,उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>