कृषि

धानको मूल्य निर्धारण

Banner

वीरगञ्ज, कात्तिक ८-

 

सङ्घीय सरकारले धान खरीदको समर्थन मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाका अनुसार सङ्घीय सरकारले मोटो धान प्रतिक्विन्टल दुई हजार ५३२ रुपैयाँ ८० पैसा र मध्यम चामल दुई हजार ६७३ रुपैयाँ १५ पैसा चामल खरीदको समर्थन मूल्य तोकेको शाखा प्रमुख नरनाथ अधिकारीले राससलाई बताए ।

उनले सरकारले धान खरीदको समर्थन मूल्य तोकेपनि हालसम्म कति धान खरीद गर्ने भने र लक्ष्य नतोकिएको बताए। वीरगञ्ज शाखाले निजी क्षेत्रका व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा आर्थिक वर्ष २०७४\७५ मा आठ करोड २४ लाख ९५ हजार ८७५ रुपैयाँ मूल्य बराबरको ३० हजार क्विन्टल मात्र धान खरीद गर्न सकेको थियो ।

सङ्घीय सरकारले प्रतिक्विन्टल दुई हजार ५३२ रुपैयाँ ८० पैसामा धान खरीद गर्ने मूल्य तोकेपछि निजी क्षेत्रका धान व्यापारीले सोभन्दा बढी मूल्यमा धान खरीद गर्न थालेपछि शाखाले ३० हजार क्विन्टल मात्र धान खरीद गर्न सकेको हो । सो धानबाट शाखाले १८ हजार ९२८ क्विन्टल चामल बनाएको थियो ।

शाखा कार्यालय वीरगञ्जले देशका विभिन्न भागमा आएको बाढीबाट प्रभावितका लागि राहतस्वरुप विराटनगरमा दुई हजार १०० क्विन्टल चामल पठाएको थियो । त्यसैगरी शाखाले २०७४\७५ मा जिल्ला कारागार वीरगञ्जलाई ३६८ मेट्रिक टन, भीमफेदी कारागारलाई २०९ मेट्रिक टन तथा गौर कारागारलाई ४५ मेट्रिक टन मन्सुली चामल पठाएको शाखा प्रमुख अधिकारीले बताए ।

शाखालाई जापान सरकारले सहयोग गरेको ५०० मेट्रिक टनसहित ३२० मेट्रिक टन धान मौज्दात अवस्थामा रहेको छ । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानलाई पर्सा बाराका केही किसानले मात्र धान बेच्ने गरेको छ । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>