समाज

एसिडपीडित मुस्कानको प्रधानमन्त्रीलाई चिठी : तपाईंको ठाउँमा म भए तेजाब हान्नेलाई फाँसी दिन्थेँ

Banner

काठमाडौँ कात्तिक ८-

तेजाब आक्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुन अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छन्। कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानले उक्त चिठी मार्फत् आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए तेजाब प्रहार गर्नेहरूलाई फाँसी दिने बताएकी छन्।

मुस्कानले यसअघि जेनी खड्का, संगीता मगर लगायतमाथि तेजाब आक्रमण गर्नेहरूलाई बेलैमा सरकारले कडा सजाय दिएको भए त्यस्तो घटना फेरि नदोहोरिने बताएकी छन्।

वीरगन्ज, ३ छपकैयाकी मुस्कानलाई गत भदौ २० गते शुक्रबार स्कुल जाँदै गर्दा गाउँकै केही केटाहरूले तेजाब प्रहार गरेका थिए। तेजाब हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्ने शमसाद मिया र माजिद आलम दुवै १६ वर्षका स्थानीय हुन्। शमसादले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा तेजाब हानेको बयान दिएका छन्।

मुस्कान डेढ महिनादेखि कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी छन्। उनको जीउको दाहिने भाग पूरै तेजाबले जलेको थियो। उनको स्वास्थ्य सुधार हुँदै आएको छ।

मुस्कानले प्रधानमन्त्रीलाई लेखेको चिठी यस्तो छः

मितिस् २०७६/८/५

माननीय प्रधानमन्त्रीज्यू,

म मुस्कान खातुन अन्सारी,

मेरो तर्फबाट नमस्ते। म एउटा तेजाब आक्रमणको नानी। हजुरलाई एउटा सानो चिठी। यो घटना मसँग घटिएको हो। यो घटनाको पीडा भनेको ठूलो घटना हो। पहिला जेनी खड्का र संगिता मगर तेजाब आक्रमण भए बेला कडा भन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुन्थिनँ होला।

प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई बहुमतको सरकार छ। हजुरको ठाउँमा म भइदिएको भए त्यो अपराधीलाई फाँसी दिन्थेँ। यसपालि ठूलोभन्दा ठूलो सजाय पाओस् ताकि म जस्तो एउटा बालिका या चेलीबेटी वा कसैमाथि तेजाब आक्रमण नहोस्। मैले जति पीडा खपेको छु, त्यो पीडा अरू कोही माथि पनि नहोस्। यो पीडा भनेको सानो पीडा होइन। एउटा देशकै ठूलो पीडा हो। आमा र बुवाको पीडा पनि धेरै ठूलो पीडा हो।

यो पीडा कसैको आमाबुवाले खप्न नपरोस्। त्यो दोषीलाई यसपालि ठूलो सजाय होस्। मेरो हजुरसँग बिन्ती र अपेक्षा छ। हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्।

यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलिबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ।

धन्यवाद।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>