चितवन विशेष
सीमएसी घटनाको मेडिकल काउन्सीलले छानविन गर्छः प्रजिअ बस्नेत

चितवन, कार्तिक ४–
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयमा मेडिकल काउन्सीलले छानविन गर्ने बताएका छन् ।
नेपाल चिकित्सक संघ चितवनको आज ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले घटनाको निश्पक्ष छानविन अधिकार प्राप्त निकाय मेडिकल काउन्सीलले छानविन गर्ने बताए । उनले यसका लागि चितवन मेडिकल कलेजलाई सहयोग गर्न आग्रह गरे । प्रजिअ बस्नेतले भने–‘सुरक्षाको प्रत्याभुति हामी दिलाउँछौं, बिरामीको मृत्युको विषयमा मेडिकल काउन्सीलले छानविन गर्छ, हामी आजै पत्र पठाउँदै छौं ।’
प्रमुख जिल्ला अधिकारी बस्नेतले सीमएसी घटना दुःखद भएको भन्दै यसबारे पहिल्यै अस्पतालले जानकारी नगराउँदा समस्या आएको बताए । अस्पतालका निर्देशक डा.दयाराम लम्साललाई संकते गर्दै उनले भने–‘अस्पतालबाट बिरामीको मृत्यु बारेमा मात्रै पत्र आयो, सुरक्षाको कुनै कुरा उठाउनु भएन, हामी आफैले सुरक्षाकर्मी पठाउँदा पनि ठूलो घटना भयो ।’ उनले अस्पतालको सुरक्षा चुनौती नै अहिले चितवनको मूख्य चुनौती बनेको बताए ।
उनले भने–‘घटनालाई सुरुमा अस्पतालभित्रै गुपचुप मिलाउन खोजिन्छ, अन्तिममा मात्र हामीलाई जानकारी हुन्छ, यस्तो तरिकाले अघि बढ्न समस्या हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी बस्नेतले सीमएसीमा तोडफोड गर्नेलाई पक्राउ गरिएको भन्दै घटनामा संलग्नहरुलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने–‘घटनाप्रति हामी गम्भिर छौं, सुरक्षाको प्रत्याभुति हामी गराउँछौं, कारवाही गरेरै छाड्छौं ।’
प्रमुख जिल्ला अधिकारी बस्नेतले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा हड्ताल गरेर सेवा ठप्प नपार्न आग्रह गरे । उनले आन्दोलनबाट समस्या समाधान नहुने भन्दै वार्ता र संवादको माध्यमबाट समाधान खोजिने प्रतिवद्धता जनाए । उनले अस्पतालको सेवालाई सुचारु गर्दै अनुसन्धानको प्रक्रियालाई सहयोग गर्न आग्रह गरे ।
सो क्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले घटनामा संलग्न एक दर्जन भन्दा बढीलाई नियन्त्रमा लिईसकेको भन्दै कारवाही प्रक्रियामा कुनै शंका नगर्न आग्रह गरे । उनले अस्पताललाई जाहेरी दिन आग्रह गर्दै सोही अनुसार कारवाही प्रक्रिया अघि बढाईने र सुरक्षाको प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाए ।
नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञवालीको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । पिनासको उपचारका लागि आएकी उनको असोज २७ गते नाकको शल्यक्रिया भएको थियो। मृतकका श्रीमान टुकनारायण ज्ञवालीका अनुसार शल्यक्रियापछि आशाको अवस्था बिग्रदै गयो र शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । उनको मृत्युको कारण देखाउँदै आइतबार अस्पतालमा तोडफोड भएको थियो ।
























