चितवन विशेष

चितवन मेडिकल कलेज तोडफोडः १२ जना पक्राउ,६ प्रहरी घाइते

Banner

चितवन,कात्तिक ३ –

उपचारको क्रममा बिरामीको निधन भएपछि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा आइतबार साँझपखको अवस्था तनावग्रस्त बनेको छ । अस्पताल परिसर पस्ने गेट र भवन छिर्ने मुख्य ढोकामै ढुंगामुडा प्रहार गरेर तोडफेड भएको छ। तोडफोडपछि प्रहरीले भीडलाई नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो। अश्रुग्यासले अस्पतालभित्र कै बिरामीलाई असर गरेको छ।

नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञवालीको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । पिनासको उपचारका लागि आएकी उनको असोज २७ गते नाकको शल्यक्रिया भएको थियो। मृतकका श्रीमान टुकनारायण ज्ञवालीका अनुसार शल्यक्रियापछि आशाको अवस्था बिग्रदै गयो र शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

नाकको ‘सामान्य शल्यक्रिया’ गर्दा पनि बिरामीको मृत्यु भएको भनेर आफन्तहरु आक्रोशित बनेका हुन्। आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको थियो। प्रहरी निरीक्षक दयाकृष्ण भट्ट प्रदर्शनकारीहरुको नजिकमै थिए। ‘वार्ता भइरहेको थियो। प्रदर्शन पनि शान्तिपूर्ण नै थियो। तर एकाएक वातावरण बिग्रियो। कसैले लौ कुरा मानेनन् रे भन्न थाले। त्यसपछि अचानक कुटपिट र ढुंगामुडा हुन थाल्यो। प्रहरीमाथि नै मान्छेहरु जाइलाग्न थाले’ प्रहरी निरीक्षक भट्टले भने।

अवस्था बिग्रदै गएपछि अश्रुग्यास हानेको चितवन प्रहरीले जनाएको छ। चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाका अनुसार स्थिति नियन्त्रणमा लिन ४० राउन्ड अश्रुग्यास प्रहार भएको थियो। तोडफोड गरेको आरोपमा १२ जना पक्राउ परेका छन्। प्रहरीतर्फ ६ जना घाइते भएको पनि डीएसपी कोइरालाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>