राजनीति

‘कृषिलाई मर्यादित र सम्मानित पेशा बनाउँछौँ’-कृषिमन्त्री खनाल

Banner

दमौली,असोज ३०-

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि पेशालाई मर्यादित र सम्मानित पेशा बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडको आज दमौलीमा आयोजित २६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले कृषिलाई सम्मानित बनाउन सकिए मात्रै कृषि क्षेत्रको विकास सम्भव हुने बताउनुभयो ।

मन्त्री खनालले कृषि क्षेत्र कम प्राथमिकतामा परेको कारण कृषक यो पेशाबाट पलायन हुने अवस्थामा पुगेकोले कृषकलाई माया गर्ने नीति सरकारले लिएको जानकारी दिनुभयो । “भाषणमा मात्रै माया गर्ने होइन, बजेट र योजनाले कृषकको सम्मान गर्न सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकास भए मात्रै देशको समृद्धि सम्भव छ ।”

कृषि योजना, चेतना र कम प्राथमिकताको कारण पछाडि परेको स्वीकार गर्दै मन्त्री खनालले कृषिबाटै नेपालको समृद्धि सम्भव रहेको प्रष्ट पार्नुभयो । नेपालमा गत वर्ष रु एक अर्ब ४५ करोडको कृषिजन्य सामग्री आयात भएको र रु १३ अर्बको मात्रै निर्यात भएको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री खनालले कृषिजन्य वस्तुमा देशलाई आत्मनिर्भर बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनुभयो ।

सङ्घीय सांसद केदार सिग्देलले मुलुकलाई समृद्ध बनाउने आयाम कृषि र पशुपालन रहेकाले कृषिमा सुधार आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रियसभा सदस्य प्रकाश पन्त, प्रदेशसभा सदस्य डोबाटे विक र सरिता गुरुङले राजनीतिक मुद्दा सकिएकाले अबको मुद्दा आर्थिक समृद्धिको हुनुपर्ने र त्यो कृषिबाटै सम्भव रहेको चर्चा गर्नुभयो । सङ्घका अध्यक्ष नारायण देवकोटाको अध्यक्षतामा आयोजित साधारणसभामा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकाल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, बचत तथा ऋण सहकारी सङ्घका महासचिव चन्द्र ढकाल, नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटा, डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीलगायतले आ–आफ्नो धारणा राख्र्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>