खेलकुद
‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’को तयारी अन्तिम चरणमा

चितवन, असोज २५–
चितवनको नारायणगढमा हुन लागेको सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
नारायणगढ जेसीजको आयोजनामा क्याम्पाचौरमा हुन लागेको प्रतियोगितालाई भव्य बनाउन गरिएको तयारी अन्तिम चरणमा पुगेको हो । दर्शकलाई बस्न सहज होस् भन्नका लागि अस्थाई प्याराफिट समेत निर्माण भइसकेको छ । यसले दर्शकलाई फुटबलको मज्जा लिन सहज हुने आयोजकको विश्वास छ ।

यस्तै प्रतियोगिताको अर्को महत्वपूर्ण पक्ष मैदान हो । यसपटक मैदानलाई पनि आकर्षक बनाईएको छ । प्रचारप्रसार समितिका संयोजक सूर्यभक्त अधिकारीले मैदानलाई स्तरीय बनाउने काम सकिएको बताए । उनले यसअघिको पहिलो संस्करणमा वर्षाले प्रभावित बनाए पनि यसपटक मैदानलाई स्तरीय बनाईएको बताए ।
यस्तै मैदानमा चारैतिर बार लगाउने काम पनि लगभग सकिएको छ । यही असोज ३० गतेदेखी सुरु हुने प्रतियोगिता कार्तिक ९ गतेसम्म चल्ने नारायणगढ जेसीज वर्ष २०१९ का अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिए ।

यसअघि जेसीजले आयोजना गरेको ‘जेसीज कप’ र विकास शिल्ड समितिले आयोजना गर्दै आइरहेको ‘विकास रनिङ शिल्ड’ लाई मर्ज गरेर यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । दुई ठूला प्रतियोगिता मर्ज गरी यो प्रतियोगिता आयोजना गरिएकोले अन्य प्रतियोगिता भन्दा भव्य हुने अध्यक्ष श्रेष्ठले बताए ।
यसपटकको प्रतियोगितामा ‘ए’ डिभिजनका ८ वटा क्लव र आयोजकसहितको दुई क्षेत्रीय क्लव गरी वटा टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका मनाङ मस्याङ्दी क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, जावलाखेल युथ क्लव, सरस्वती क्लव, फ्रेण्ड्स क्लव, संकटा क्लव, चितवन ११ र मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँ, शिल्ड र उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँ, शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्नका लागि विभिन्न समितिहरु निर्माण गरिएको छ । प्रतियोगिता अवलोकनका लागि एक सय र दुई सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । प्रतियोगिताको हरेक खेल दिउँसो ३ः३० बजेदेखी सुरु हुनेछ ।

























