चितवन विशेष
राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले पायो पूर्णता, चितवनबाट चार जना बने केन्द्रीय सदस्य

चितवन, असोज १८–
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले एकतापछिको केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।
साबिकको युवा सङ्घ र वाइसिएल नेपालबाट सहमति र भागबण्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३३२ सदस्यलाई पूर्णता दिएको हो । सङ्गठनका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा आज जारी विज्ञप्तिमा पारित केन्द्रीय कमिटीको पहिलो बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा आयोजना गरिएको छ । यसैगरी कात्तिक २० र २१ गते सङ्घले राष्ट्रिय भेलाको आयोजना गरेको छ ।
संघको केन्द्रीय सदस्यमा चितवनबाट चार जना चयन भएका छन् । जना अन्तरगत तीन जना पूर्व वासिएल र एक जना पूर्व युवा संघका रहेका छन् । वासिएलबाट केन्द्रीय सदस्य हुनेमा सन्तोष पनेरु, साजन अधिकारी र दिवस पाण्डे रहेका छन् भने युवा संघबाट प्रताप डल्लाकोटी चयन भएका छन् ।