क्रिकेट

न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको पीडा : दिनमा क्याम्पस, राति होटलमा मजदूरी

Banner

शेरबहादुर सिंह

भीमदत्तनगर,  असोज ५-

न्यून दृष्टियुक्त क्रिकेट खेलाडी नरेन्द्र विष्ट गरीबी र कष्टकर दैनिकीबीच अध्ययन र खेलकूदलाई निरन्तरता दिँदै आएका छन् ।

बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानीका १८ वर्षीय यतिबेला कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्ड हलमा क्रिकेट सिकिरहेका छन् । विष्टसँगै सुदूरपश्चिम प्रदेशका ३१ महिला तथा पुरुष क्रिकेट खेलाडी अभ्यासमा जुटेका छन् ।

कैलालीको धनगढीस्थित ‘कैलाली बहुमुखी क्याम्पस’मा अध्ययनरत विष्टको दैनिकी अरु क्रिकेट खेलाडीको भन्दा कष्टपूर्ण छ । विसं २०६२ मा मामाको सहयोगमा विष्ट अध्ययनका लागि धनगढीस्थित पञ्चोदय विद्यालय भर्ना भएका थिए । त्यहाँ उनले ब्रेललिपिमा शिशु कक्षाबाट अध्ययन शुरु गरेका हुन् । विष्टले एसइईसम्मको अध्ययन सोही विद्यालयबाट पूरा गरे ।

“बुबाले घरमा मजदूरी गरेर जेनतेन परिवारको खर्च चलाइरहनुभएको छ”, विष्टले भने, “मैले पनि दौडधूप गरी अध्ययन र खेलकूद सँगसँगै अघि बढाएको छु ।” विष्ट जन्मजात नै न्यून दृष्टियुक्त व्यक्ति होइनन् । बाल्यकालमा दुवै आँखा कमजोर भएका विष्टको बायाँ आँखाले २०६८ सालदेखि पूरै देख्न छाड्यो । “स्कुलमा क्रिकेट हेर्दा बल लागेर बायाँ आँखामा चोट लाग्यो”, उनले भने, “बिस्तारै बायाँ आँखाले नदेख्ने भएँ ।”

क्रिकेटका कारण आँखाको ज्योति गुमाए पनि उनले क्रिकेट खेल्न भने छाडेनन् । विष्टले कक्षा ५ पढ्दा नै क्रिकेट खेल्न थालेका हुन् । उनले सुदूरपश्चिम प्रदेशबाट छनोट भई २०७४ सालमा राष्ट्रिय क्रिकेट प्रतियोगितासमेत खेलिसकेका छन् । उनको टोली तेस्रो भयो । “बलिङ र ब्याटिङ राम्रै थियो, टोलीमा पर्न सफल भएँ ।” हाल उनी भीमदत्तनगरमा चलिरहेको प्रशिक्षणमा सहभागी छन् । उनी क्रिकेट अभ्यास गर्नकै लागि दिनहुँ झण्डै ६० किलोमिटर यात्रा गरी धनगढीबाट महेन्द्रनगर आउने गरेका छन् ।

विष्ट धनगढीस्थित रुबस होटलमा राति भाँडा माझ्ने र भान्सा स्याहार्ने काम गर्छन् । कैलाली बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनको तयारीमा रहेका विष्ट होटलमा मजदूरी गरी क्याम्पस पढ्ने तयारीमा जुटेका छन् । उनले अन्य जागिरका लागि धैरै प्रयास गरे पनि सफल भएनन् । धनगढीस्थित क्याम्पस रोडमा मासिक रु दुई हजार ५०० भाडा तिरेर बस्दै आएका विष्ट भाडा तिर्न मामाले सघाउने गरेको बताउँछन् ।

रातभर होटलमा काम गरी विष्ट बिहान क्रिकेट अभ्यासका लागि कञ्चनपुरतर्फ लाग्छन् । उनले २०७४ सालमा झण्डै १० महीना क्याम्पसले नै सञ्चालन गरेको ‘रेडियो केमसी’मा साप्ताहिक कार्यक्रमसमेत चलाए । स्नातकमा नेपाली विषय लिएर अध्ययन गर्ने योजना बनाएका विष्टले ब्रेललिपिमा क्याम्पसस्तरको पाठ्यपुस्तक नपाउँदा समस्या भएको बताए । उनले परीक्षाका बेला सहयोगी राख्ने गरेका छन् । विष्ट प्रतिभावान् र मेहनती खेलाडी भएको क्रिकेट प्रशिक्षक नरेन्द्र निरौलाले बताए ।

नेत्रहीन सङ्घको पहलमा देशभरि खेलाडी खोजी अभियान सञ्चालन गरिएको थियो । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा धेरै खेलाडी भेटिएको निरौलाले बताए । सङ्घकै आयोजनामा भीमदत्तनगरमा प्रशिक्षण सञ्चालनमा छ । आगामी मङ्सिरसम्म राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>