चितवन विशेष
चितवनमा थपिदै डेंगुका बिरामी

चितवन, भदौ ३० –
चितवन जिल्लामा डेंगुको बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् ।
चितवन जिल्लामा साउन महिना यता एक हजार ८५७ जनालाई डेंगु लागेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । त्यसमध्ये चितवन जिल्लाका एक हजार ४९६ जना रहेका छन् । नवलपुरका २०३, मकवानपुरका ४१ र अन्य जिल्लाका ११८ जनाले चितवनमा डेंगुको उपचार गराइरहेको स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए ।
चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेंगुका बिरामी भेटिएका छन् । महानगरमा एक हजार ३३३ जनामा डेंगु देखा परेको उनले जानकारी दिए । त्यस्तै खैरहनी नगरपालिकामा २०, राप्ती नगरपालिकामा ११, कालिका नगरपालिकामा २१, माडी नगरपालिकामा २५ र इच्छाकामना गाउँपालिकामा १२ जनामा डेंगु देखा परेको छ । यो संख्या अझै बढ्न सक्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
असोज महिनासम्म डेंगु प्रकोप हुने भएकाले सचेत हुन प्रादेशिक स्वास्थ्य निर्देशानलयका निर्देशक रमेश अधिकारीले जानकारी दिए । सञ्चारकर्मीसँग आइतबार भतरपुरमा भएको अन्तरक्रिया कार्यक्रममा उनले तीन नम्बर प्रदेशमा चितवन डेंगुबाट सबैभन्दा प्रभावित बनेकाले प्रदेश सरकारको ध्यान चितवन तर्फ बढेको बताए । उनले डेंगु नियन्त्रण गर्न सबै समुदाय लाग्न आग्रहसमेत गरे ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अन्तराष्ट्रिय विज्ञद्वय लुङ्देन, डाक्टर बीएन नग्पाल, जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी, चितवन मेडिकल कलेजका डाक्टर शितल अधिकारी, डाक्टर दयाराम लम्साल, भरतपृुर अस्पतालका डाक्टर युवानिधि बर्सौलालगायतले डेंगु रोगबारे जानकारी दिएका थिए । कार्यक्रममा उनीहरुले डेंगु लामखुट्टेबाट लाग्ने भएकाले घरवरपर पानी जम्न नदिन सर्वसाधारणलाई आग्रह गरेका थिए ।
























