स्वास्थ्य
मेडिकल माफिया विरुद्ध डा.केसीले दिए सत्याग्रहको चेतावनी

काठमाडौँ, भदौं २९-
डा.गोविन्द केसीले सरकारसमक्ष ७ बुँदे माग अघि सार्दै पूरा नभए सत्याग्रहसहितको आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै विगतमा आफू र सरकारबीच भएका सम्झौताबमोजिम चिकित्सा शिक्षा ऐन संशोधन गर्न र चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका विषयमा चित्तबुझ्दो जवाफ दिन माग गरेका छन् ।
‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोट पारदर्शी नभएको, योग्यता नपुगेका र दलका कार्यकर्ता छानिएको विषय उठेका छन्, यसमा सम्बन्धित निकायले चित्तबुझ्दो उत्तर नदिए उपाध्यक्षको नेतृत्वमाथि वैधानिक तथा नैतिक प्रश्न आउनेछ,’ विज्ञप्तिमा भनिएको छ । उनले आयोगमा पार्टीसम्बद्ध व्यक्ति नभई विज्ञलाई नियुक्त गर्नुपर्ने माग राखेका छन् । उनले निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको रकम फिर्ता गराउन र दोषी मेडिकल कलेजलाई कानुनबमोजिम कारबाही गन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले मेडिकल माफियाको प्रभावमा निजी मेडिकल कलेजको शुल्क र सिट संख्या वृद्धि गर्न गरेको सिफारिसलगायतका निर्णय तत्काल खारेज गर्नसमेत उनले माग गरेका छन् ।
























