चितवन विशेष
जनतासंग प्रदेशसभा सांसद सुवेदी,भरतपुरमा नागरिक भेला

चितवन,भदौं २८-
चितवन क्षेत्र नम्वर २/२ का प्रदेशसभा सांसद विजय सुवेदीले जनतासंग प्रदेसभा सांसद कार्यक्रम आयोजना गरेका छन् । निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका ७ वडाका विभिन्न टोलविकास संस्थाका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा जनताले सांसद सुवेदीसंग प्रत्यक्ष साक्षात्कार गरेका हुन् । उनिहरुले सडक पूर्वाधार विकास र सुशासनका पक्षमा सांसदको ध्यानाकर्षण गराए ।
चितवनमा जनतासंग सांसद कार्यक्रम पहिलोपटक आयोजना गरिएको भन्दै नागरिकले प्रशंसा गरेका छन् । प्रगतीपथ टोल विकास संस्थाकी अध्यक्ष रमा लौडारीले नागरिकसंग जोडिने काम प्रदेशसभा सांसद सुवेदीबाट भएको भन्दै खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘पहिलो पटक यस्तो कार्यक्रम हुँदैछ, यसले सांसदलाई नागरिकसँग जोड्ने माध्याम बनेको छ ।’ उनले जनप्रतिनिधि नागरिकसंगै संधै जोडिनुपर्ने र विधमान समस्या समाधानका लागि अग्रसर हुनुपर्ने बताइन् ।

शिताराम टोल विकास संस्थाका अध्यक्ष देविजंग गुरुङले टोलटोलमा जनप्रतिनिधिसंग साक्षात्कार कार्यक्रम हुनुपर्ने बताए । जनताले अपेक्षा गरे अनुसारका काम हुन सकेको छैन्,उनले भने’,कमसेकम यस्ता संवाद र छलफलले नागरिकमा आशा पालाउने छ ।’
भरतपुर ११ कैलाश टोलका अध्यक्ष रविन्द्र बरालले जनताको आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न आग्रह गरे । उनले चितवन २/२ मा प्रदेशसभाबाट विनियोजन भएका सबै योजनाहरु समयमै निर्माण सम्पन्न हुनु सकरात्मक पक्ष भएको बताए । विकास निर्माणको काममा गुणस्तरमा ध्यान दिनुपर्ने उनको जोड थियो । अन्य सहभागिले सडक लगाएतका भौतिक निर्माण गुणस्तरिय बनाउन माग गर्दै सर्वजनिक क्षेत्रमा हुने ढिलासुस्ती,भ्रष्टाचार अन्त्य गर्न माग गरे ।

नागरिकबाट उठेका प्रश्न र जिज्ञासाबारे सम्बोधन गर्दै सांसद सुवेदीले निर्वाचनका समयमा जनतासंग गरेका प्रतिबद्धता पुरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गरेको बताए । उनले नागरिकसंग संवाद गरेर टोलटोल र घरघरमा जाने योजना रहेको सुनाए । ‘मैले निर्वाचित भएपछि के काम गरे र के गर्दैछु भन्ने जनतालाई जानकारी दिन भेला आयोजना गरेको हुँ,उनले भने’,आगामि दिनमा झन् जनताप्रति समर्पीत भएर काम गर्नेछु । ’ उनले सुशासनको पक्षमा सधै अग्रसर भएर लाग्ने बताए । जनताको प्रतिनिधि जनताको काम बफादार भएर गर्नुपर्ने भएकाले आफूले त्यो भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा सांसद सुवेदीले प्रदेश सभाले गरेका गतिविधि र आफूले खेलको भूमिकाका बारेमा जानकारी गराएका थिए ।

चितवन क्षेत्र नम्वर २/२ आर्थिक बर्ष २०७५/७६ मा विनियोजन भएका ९८ योजना कार्यान्वन भएको उनले बताए । एउटा योजनाको सबै काम सकेर पनि कालोपत्रेको काम बाँकी रहेको उनले जानकारी दिए । उनले गत आर्थिक बर्षमा विभिन्न सडक निर्माण, गणेशधाम, पुङगीखोला, चिल्ड्रेनपार्क, कभर्डहल,कृष्णपुर खेल मैदान, केरुङ्गा खोलामा डिपिआर निर्माण,सरसफाई र हरियाली प्रवद्र्धन कार्यक्रम प्रभावकारिताका साथ कार्यान्वयन गरेको बताए । यस्तै सबै वडामा बायोग्याँस प्लान्ट,जलकुम्भी झारबाट पानी प्रसोधन,फोहोर स्रोत केन्द्र स्थापना गरेको सांसद सुवेदीले जानकारी दिए । यसबाहेकका योजनामा पनि सक्रिय सहभागिता र निरन्तर निगरानी तथा खबरदारी गरेको उनको दावी छ ।
यस आर्थिक बर्षका लागि करिब २० करोडको योजना चितवन क्षेत्र नम्वर २/२ मा प्रदेश सरकारबाट विनियोजन भएको सांसद सुवेदीले बताए । उनले यसबर्ष भौतिक पूर्वाधार निर्माणसंगै पर्यावरण, शिक्षा, स्वास्थ्य र उत्पादनमूलक क्षेत्रमा जोड दिएको बताए । कार्यक्रममा भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले डेङगु रोगका बारेमा जानकारी प्रदान गरेका थिए । भेलामा विभिन्न टोलविकास संस्थाका करिब डेढसयको सहभागिता रहेको थियो ।
नागरिक सहयोग समिति गठन
कार्यक्रममा चितवन क्षेत्र नम्वर २/२ का योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै वडाको प्रतिनिधित्व रहनेगरी समिति निर्माण गरिएको छ । नागरिक भेला मार्फत सन्तोष पन्तको अध्यक्षतामा निर्वाचन क्षेत्र विकास नागरिक समिति चितवन २/२ गठन गरिएको हो । समितिको सदस्यमा जमुना परियार, यमनाथ आचार्य, मनिस सापकोटा, विष्णु कोइराला, शिवराज गिरी, टिकाराम सापकोटा,बुद्धि कुमार श्रेष्ठ, तिलक रिमाल,सन्देश वाग्ले,सुर्य भट्टराई चयन भएका छन् । समिति घोषणको जिम्मा शिक्षाविद रमाकान्त सापकोट,उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. तिलचन्द्र भट्टराई,महिला समाजसेवी मिना खरेललाई दिइएको थियो । समितिले रमाकान्त सापकोटा,डा.तिलचन्द्र भट्टराई,मिना खरेल,केशव रेग्मी,निर्मल शर्मा,शिव भट्टराईलाई सल्लाहाकार चयन गरेको छ । प्रदेशका विभिन्न मन्त्रालयसंग समन्वय गर्नेगरी समिति निर्माण गरिएको सांसद सुवेदीले बताए ।
























