विचार/ब्लग

चितवन मेडिकल कलेजको अवैध असुली र सरोकारवालाको मौनता

Banner

रमेश बस्ताकोटी–

चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्ने विद्यार्थीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै गरेको आन्दोलनबाट प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ जना बिहीबार पक्राउ परेपछि केही हदसम्म भए पनि चितवन मेडिकल कलेजले गरिरहेको ‘लुट’ बारे केही मानिसहरुको ध्यानाकर्षण भयो । यसअघि पनि त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पटक–पटक विभिन्न स्वरुपमा आन्दोलन गरे पनि यस बारे न कसैले सुन्यो, न त यस बारे कसैको ध्यानाकर्षण भयो । विद्यार्थी र अभिभावक भित्रभित्रै पिल्सनु र आफ्नै आँखा अगाडि भैइरहेको ‘लुट’ को साक्षी बन्नु बाहेक कुनै विकल्प रहेन उनीहरु सामु !! जब प्रकाश चन्द पक्राउ परे अनि धेरथोर भए पनि यस प्रति मानिसहरुको चासो गयो । भलै प्रकाशसहित सबै रिहा भैसकेका छन् ।

यो वर्षको विद्यार्थी भर्नाको शुरुवात देखिनै यो पंक्तिकार पनि चितवन मेडिकल कलेजले गरिरहेको ‘लुट’ बारे साक्षी छ । एक जना विद्यार्थीले सरकारले तोकेको दर अनुसार शुल्क बुझाएर जब भर्नालगायत अन्य आवश्यक प्रकृयाका लागि कलेज गयो तब उ संग थप १२ लाख ५० हजार रुपैयाँ माग गरियो । पंक्तिकारको नजिकको चिनजानको मान्छे भएका कारण के भएको रहेछ भनेर बुझ्न उनका अभिभावकसंगै कलेज पुगेको थियो । त्यतिबेला कलेजका प्रशासन प्रमुख अरुण कोईरालाले भनेका थिए–‘सरकारले तोकेको रेटमा हामी पढाउन सक्दैनौं, अतिरिक्त चार्ज नलिकन हाम्रो लगानी नै उठ्दैन ।’ उनले पंक्तिकारकै अघि ती अभिभावकसंग प्रस्ट भनेका थिए,–‘थप रकम अर्थात ६ लाख ५० हजार नबुझाई हामी विद्यार्थी पढाउन सक्दैनौं, यो मेडिकल कलेज एशोसियनको पनि निर्णय हो ।’ उनले अझै भनेका थिए,‘तपाईं जहाँ गए पनि केही हुने वाला छैन, यो हाम्रो नियम नै हो ।’ उनले पछि लिने भनिएको अतिरिक्त रकमको रसिद भने कुनै हालतमा दिन नसकिने बताएका थिए । उनले त्यसो भनिसके पछि मैले आफ्नो परिचय दिँदा आफ्नो बाध्यतालाई बुझिदिन उनले आग्रह गरे ।

पछि केही अभिभावकहरुले जिल्ला प्रशासन कार्यालयमा यस बारे उजुरी पनि दिएका थिए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत (सिडिओ)ले चितवन मेडिकल कलेजलाई सरकारले तोके भन्दा बढी शुल्क नलिन भन्दै पत्रनै लेखेर निर्देशन समेत दिए । तर सिडिओको त्यो आदेशलाई कलेजले पूर्णतः बेवास्ता ग¥यो, अझ भनौ टेर पुच्छर लाएन । सिडिओ साबले पनि मैले पत्र लेखिदिएको छु भनेर आलटाल गर्दै अभिभावकलाई पन्छाउने काम मात्र गरे । उनले गैरकानुनी असुली गर्नेलाई कारवाही गर्ने त के छुन समेत सकेनन् । यो सबै कुराको साक्षी यो पंक्तिकार थियो । त्यसपछि पनि विद्यार्थी र अभिभावकहरुले विभिन्न निकाय र जनप्रतिनिधिहरुसंग समेत हारगुहार गरे तर पैसाको शक्तिले उन्मत्त चितवन मेडिकल कलेज र यसका अध्यक्ष एवंम् प्रवन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले कोही कसैलाई टेरेनन् अझ प्रष्ट भन्नु पर्दा उनीहरुले ‘सेटिङ’ गरेर यो विषयलाई अन्त्य गरिदिए ।

अहिले फेरि विद्यार्थीहरुले यो मुद्दाको उठान गरेका छन् । बढी शुल्क लिन पाइदैन, सरकारले तोकेको शुल्क लेउ, निमुखा, सोझा, गरिब र मध्यम वर्गाीय नागरिक माथी शोषण नगर, अनेक बहानामा शुल्क उठाउन पाईदैन भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका डाक्टरी पढ्ने विद्यार्थी माथी प्रहरीले लाठी चार्ज गर्दै पक्राउ गरेर थुन्नु कतिको जायज कुरा हो । के यो विद्यार्थी र अभिभावक माथी अन्याय होइन ? यो लोकतन्त्र हो कि लुट्तन्त्र हो ? जहाँ राज्यनै सहायक भएर खुलम खुला लुट्न छुट दिईरहेको छ । यसको जवाफ प्रशासनले दिन पर्छकी पर्दैन ? सबै भन्दा गज्जब र अचम्मको कुरा त के छ भने जब आफ्ना हकहित र अधिकारका लागि विद्यार्थीहरु आन्दोलन गर्दै गर्दा प्रहरीको कुटाई खाँदै हिरासतसम्म पुगे, त्यो बेला आफूलाई विद्यार्थीहरुको मसिहा सम्झने विद्यार्थी संगठनहरु मौन थिए । कुनै पनि विद्यार्थी संगठन चुइक्क समेत बोलेनन् ।

आन्दोलनको नेतृत्व जसले सुकै गरेको होस् त्यहाँ विशुद्ध शैक्षिक माग थियो भन्ने कुरा आफुलाई विद्यार्थी संगठनको नेता हुँ भन्नेको दिमागमा घुसेन कि पैसा, पावर र प्रभावको अघि सबै नैतिकता बिक्री भयो ? विद्यार्थी संगठनहरुले यसको जवाफ दिनु पर्छकी पर्दैन ? केही विद्यार्थी नेताले तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छु भनेर भद्दा अभिनय गरे पनि त्यसलाई लाज जोगाउन गरिएको अभिनय भन्दा अरु केही मान्न सकिन्न । विद्यार्थी भर्नाको शुरूवात देखिनै देखिएको यो समस्या बारे सबै विद्यार्थी संघठनलाई राम्रोसंग थाहा छ । तर उनीहरुले यो बारेमा चुइक्कसम्म नबोल्नु अत्यन्तै लाजमर्दो कुरा हो । यो समग्र विद्यार्थी आन्दोलन र अहिलेसम्म प्राप्त गरेको उपलब्धि कै धज्जी उडाउने काम हो । धेरै पैसा तिर्न बाध्य र आफूहरुको कुरा सुनुवाई नहुँदा निराश भएका विद्यार्थीहरुले सबै विद्यार्थी संगठन पनि पैसामा बिक्री भए भनेर भन्न थालेका छन्, के त्यस्तै हो ? यदी यो हो भने ठूलो दुर्भाग्य हो । विद्यार्थी आन्दोलन कै बदनाम हो । त्यस्तो नहोस् भन्ने कामना गरौं, बाँकी कुरा संगठनहरुले दिने रिजल्टमा भर पर्छ ।

अर्कोतर्फ जिल्लाका राजनीतिक दलहरुले समेत यो विषयमा चुइक्क बोलेका छैनन् । यहाँबाट निर्वाचित जनप्रतिनिधिहरु समेत मौन छन् । जताततै यो विषयमा सबै मौन मात्र देखिन्छ । सरकारी निकाय, अनुगमन गर्ने संयन्त्र सबै मौन छन् । यस्तो किन भएको होला ? यसको सफा र सिधा उत्तर छ, पैसा, पावर र प्रभाव ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवंम् प्रवन्ध निर्देशक हरिशचन्द्र न्यौपानेको पहुँच सिधा माथीसम्म छ । यो सबैलाई थाहा भएकै कुरा हो । उनले पैसाको बलमा आफ्नो प्रभाव यसरी विस्तार गरेका छन् कि उनको विरुद्ध कोही चुइक्क बोल्न सक्दैन । उनको कलेजले शक्तिकै आडमा कतिपय गैरकानुनी कामलाई समेत बैध बनाईदिन्छ । अहिले कलेजले गरेको अबैध असुली यसैको एउटा ज्वलन्त उदाहरण हो । अबैध हो भन्ने सबैलाई थाहा हुँदाहुँदै कोही बोल्न सक्दैनन्, कारण न्यौपानेको पहुँच नै हो । राजनीतिक दललाई चन्दा पाइदैन भन्ने डर, सरकारी सेवकलाई सरुवा, घटुवा र दुर्गमको डर यो केही उदाहरण मात्र हो । जे होस् न्यौपाने र चितवन मेडिकल कलेजले सबैको चित्त बुझाएकै छन् । त्यसकारण पनि सोझा साझा विद्यार्थी र अभिभावकहरुको आवाज सुनिएको छैन । प्रहरी लगाएर उनीहरुको आवाजलाई दबाउने कोशिस गरिएको छ ।

चितवन मेडिकल कलेजको अबैध असुलीको बारेमा कोही पनि नबोल्नु र मौन रहनु आफैमा रहस्यमयी कुरा हो, यस बारेमा माथी पनि धेरै चर्चा गरिसके । यो सबै लोभ, लालच र त्रासको कारण भएको हो भन्ने कुरामा दुई मत छैन । केही बुजरुक्कहरुलाई यस बारेमा भन्दा अन्तः कलेजले पनि लिएका छन् रे हामी मात्र किन बोल्नु भनेर पन्छिन खोज्छन् । ती बुजरुक्कलाई मेरो भन्नु के छ भने चितवन छुट्टै पहिचान बोकेको जिल्ला हो, ठूला–ठूला परिवर्तनका कुरा र कन्ट्रोभर्सीका कुरा पनि यही भएका छन् । त्यसकारण यस्तो अबैध असुली र गैरकानुनी हर्कतका बारेमा पनि यहीबाट आवाज बुलन्द पार्नु पर्ने होईन र ? कति दिन लोभ, लालच र त्रास बस्ने ?

चितवन मेडिकल कलेजले शुल्क बढी भयो भनेर निर्दोष विद्यार्थीलाई कुट्दै थुनाएकै दिन अर्को एउटा परोपकारी काम ग¥यौं भन्दै खुब प्रचार गरेको छ । त्यो के हो भने डेङ्गे परीक्षणका लागि उसले एक हजार कीट निःशुल्क उपलब्ध गराउने छ । नागरिकलाई यसले केही मात्रामा राहत त देला तर यस्तै सामाजिक कार्यको ढोङ देखाएर भैरहेको करोडौं लुटको बारेमा कसले बोलिदिने ? किन सबै मौन ? अब बोल्ने बेला भएन र ?

अन्त्यमा, एक जना सामाजिक अभियन्ता प्रेम रिमालले फेसबुकमा गरेको पोस्ट जसले मेरो मन छोयो, त्यसलाई यहाँ पनि उल्लेख गर्न चाहन्छुः

‘करौडौंको ठगी दुईचार सय डेङ्गे परीक्षणका कीट सित्तैमा दिएपछि माफ हुने हो ? सरकार म घोषणा गर्छु, मेडिकल कलेजले गरेको लुट नियन्त्रण गर्ने हिम्मत गर म पाँच हजार डेङ्गे परीक्षणको कीट जुटाइदिन्छु । हजारौं अभिभावकहरूलाई लुटेर केही बिरामीको रगत जचाइदिन्छु भन्नेलाई धन्यवाद हो भने कुरा प्रष्ट छ ठगहरूको पहुँच धेरै माथि छ । हामी सामान्य स्कुल चलाएर बसेका मान्छेहरू नर्सलाई सरकारी तलब भनेर विज्ञापन गर्छाैं तर आफै अठार बीस लाख हसुर्ने अनि नर्सलाई छ महिना सित्तैमा काम लगाउने, त्यसपछि दशआठ हजार हातमा हाल्दिने । के यो भ्रष्टाचार होइन ? मेडिकल अफिसर (जोसँग अहिले ६०/७० लाख लिने गरेका छन् पढाउन) लाई १८÷२० हजार दिएर लदाइरहेका छन् । जेल जान तयार हुनुपर्छ, पछि हट्ने होइन । यस्तो ब्रम्हलूटका विरूद्धमा सबै एकजुट हुनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>