चितवन विशेष
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पमा रेडियो तथा टेलिभिजन प्रयोगशाला

चितवन, भदौं २६-
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको व्यवसायिक अभ्यासको लागि रेडियो तथा टेलिभिजन प्रयोगशालाको सुरुवात भएको छ ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रयोगशालाको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको सामुदायिक क्याम्पस सबलीकरण परियोजनाअन्तर्गत स्थापना भएको प्रयोगशालामा प्रदेश सरकारको २० लाख रुपैयाँ र क्याम्पसको पाँच लाख रुपैयाँ खर्च भएको छ ।
ल्याबको उद्घाटनपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री पौंडेलले देशभरका एक हजार बढी सामुदायिक क्याम्पसहरुमा सप्तगण्डकी क्याम्पस उत्कृष्ट भएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘ म शिक्षा क्षेत्रमा धेरै वर्ष काम गरेर आएको हो । मकवानपुर क्याम्पस हेटौंडामा भदौं २० गतेसम्म क्याम्पस सञ्चालक समितिको अध्यक्षको रुपमा काम गरेँ तर सप्तगण्डकी बहुमुखी क्याम्पसले हाम्रो क्याम्पसभन्दा पनि शिक्षामा अगाडि गएकोमा खुसी लागेको छ ।’ उनले आमसञ्चार विषयको प्रयोगात्मक अभ्यासको लागि निर्मित प्रयोगशालाको लागि भविष्यमा आवश्यक पर्ने थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले विसं २०४५ सालमा स्थापना भएको क्याम्पसले विभिन्न आरोहअवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको बताए । उनले क्याम्पसमा चार बर्षे बीए, बीएड, बीबीएस, बीएस्सीलगायत सेमेस्टर कार्यक्रमअन्तर्गत बीबीए, बीसीए, बीआईएमलगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिए । सप्तगण्डकी क्याम्पसले गुणस्तर प्रमाणपत्र (क्यूएए) प्राप्त गरेपछि प्राज्ञिक स्वायत्तताअन्तर्गत एमबीएमा कृषि व्यवस्थापन विषयको पाठ्यक्रम निर्माण भइरहेको पनि जानकारी दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले प्रदेश सरकारले क्याम्पसको सबलीकरणको लागि गरेको प्रयासका लागि धन्यवाद दिए । उनले भविष्यमा पनि सामुदायिक क्याम्पसको व्यवसायिक विकासको लागि सहयोगको अपेक्षा पनि गरे । उनले भने, ‘आमसञ्चार अध्ययन गर्ने विद्यार्थीको क्षमता र व्यवसायिक दक्षता अभिवृद्धिको लागि प्रयोगशाला उपयोगी बन्न जानेछ ।’
सञ्चालक समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका पूर्वक्याम्पस प्रमुख खेमनारायण सापकोटाले भविष्यमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर अध्यापन गराउने गरी पूर्वाधारको रुपमा प्रयोगशालाको निर्माण गरिएको बताए । उनले भने, ‘ प्रदेशको मुख्यमन्त्रीको रुपमा सामुदायिक क्याम्पसमा लामोसमय काम गरेको शिक्षा क्षेत्रको अनुभवी व्यक्तित्व पाउनु नै प्रदेशको लागि शैक्षिक क्षेत्रको लागि गर्वको विषय भएको बताए ।
कार्यक्रममा क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा प्रदेश ३ का मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेश सांसदहरु विजय सुवेदी र घनश्याम दाहाल, नेकपा चितवनका नेता तेजेन्द्र खड्का, क्याम्पस सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष रमाकान्त सापकोटा, पूर्वक्याम्पस प्रमुख बालकृष्ण पौडेल, पूर्वक्याम्पस प्रमुख डा भीमराज अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख दानबहादुर मल्ल, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, सहायक क्याम्पस प्रमुखहरु, क्याम्पसका विभागीय प्रमुखहरु तथा कार्यक्रम संयोजकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
के हो मिडिया प्रयोगशाला ?
मिडिया प्रयोगशाला आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीले व्यवहारिक अभ्यास गर्ने कोठा हो । जसमा विभिन्न रेडियो तथा टेलिभिजन प्रसारणका लागि आवश्यक सामग्रीहरुलाई जडान गरिएको हुन्छ । प्रयोगशालाको लागि सप्तगण्डकी क्याम्पसमा एउटा कार्यक्रम निर्माण कक्ष र एउटा स्टुडियोको व्यवस्था गरिएको छ । विद्यार्थीले प्रयोगशालाबाट रेडियो, टेलिभिजन र अनलाइनको लागि आवश्यक ज्ञान तथा सीप विद्यार्थीहरुले सिक्ने अवसर पाउँनेछन् । विद्यार्थीहरुले निर्माण गरेका कार्यक्रमहरु, समाचार रिपोर्टहरु तयार गरी युट्युब र अनलाइनबाट प्रसारण गर्न सक्नेछन् । भविष्यमा क्याम्पसबाटै शैक्षिक रेडियो र टेलिभिजन सञ्चालन गर्न सक्ने गरी क्याम्पसमा मिडिया प्रयोगशाला निर्माण गरिएको छ ।

सप्तगण्डकी क्याम्पसका पूर्वक्याम्पस प्रमुख खेमनारायण सापकोटाले विश्वविद्यालय अनुदान आयोगले आमसञ्चार तथा पत्रकारिता अध्यापन गराउने क्याम्पसहरुको अध्ययनमा यस्तै प्रयोगशाला बनाउन सुझाव दिँदै आएको थियो । क्याम्पसमा आमसञ्चार अध्ययनरत विद्यार्थीहरु र विद्यार्थी संगठनका नेताहरुले पनि विगत लामोसमयदेखि प्रयोगशालाको माग गर्दै आएकोमा त्यो सपना अहिले पूरा भएको पूर्वक्याम्पस प्रमुख सापकोटाले बताए । प्रयोगशालामा पाठ्यक्रमले मागेअनुसार हप्तामा निश्चित दिन प्राध्यापकहरुको निर्देशनमा विद्यार्थीहरुले अभ्यास गर्ने आमसञ्चार विषयका सहायक प्राध्यापकहरु मधुसूदन दवाडी र दिपेन्द्र अधिकारीले बताए । अहिले क्याम्पसमा स्नातक तहमा करिब १०० जना र उच्च मावि तहमा करिब २०० जना विद्यार्थीले आमसञ्चार र पत्रकारिता अध्ययन गर्छन् ।

























