चितवन विशेष

कालिकाले १७ औँ वार्षिकोत्सव मनाउने,एक महिने कार्यक्रम सार्वजनिक

Banner

चितवन, भदौं २३-

चितवनको कालिका मिडिया ग्रुपले विविध कार्यक्रम गरी १७ औँ वार्षिकोत्सव मनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै कालिका मिडिया ग्रुपले विगतका कार्यक्रमलाई निरन्तरता दिदै केही नयाँ कार्यक्रमसहित आउँदो असोज १ गतेदेखी वार्षिकोत्सवका कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।

एक महिनासम्म चल्ने वार्षिकोत्सवका कार्यक्रमहरुमा स्रोता लक्षित समाजका प्रवुद्ध व्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै कालिका मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक विक्रम पाण्डेले समाज र राष्ट्रको हितमा निरन्तर कार्यक्रम र सूचनाहरु प्रसारण गर्दै आइरहेको कालिका मिडियाले आगामी दिनमा पनि कटिबद्ध भई लाग्ने प्रतिवद्धता जनाए ।

पूर्वमन्त्री समेत रहेका पाण्डेले मोफसलबाट नै राष्ट्रियस्तरको मिडिया सञ्चालन गर्न सकिने बलियो उदाहरणका रुपमा कालिका मिडिया रहेको बताए ।

कालिका मिडियाले वार्षिकोत्सवका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रलाई लक्षित गरी १४ वटा कार्यक्रम तय गरेको छ । यस वर्ष नयाँ कार्यक्रमको रुपमा महिलाहिंसा तथा चेलिबेटी बेचबिखनविरुद्धको अन्तरक्रिया कार्यक्रम र ‘लागूऔषध प्रयोगकर्ताको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम तय गरेको छ ।

यस्तै १५ औँ कालिका म्युजिक अवार्ड, देवघाटका वृद्धवृद्धालाई सम्मान तथा स्वास्थ्य परीक्षण, वृहत राष्ट्रिय लोकदोहोरी तथा विविध साँस्कृतिक महोत्सव, राष्ट्रिय पञ्चे तथा सारङगी गन्धर्व बाजा प्रतियोगिता, शिक्षक तथा प्राध्यापकहरुलाई लक्षित गर्दै फुटसल प्रतियोगिता, अन्तर सहकारी महिला हाजिरीजवाफ प्रतियोगिता, कृषक समूहबीच हारिरीजवाफ प्रतियोगिता, श्रष्टा, सृजना र संवाद कार्यक्रम, अन्तरकर्मचारी प्रतियोगिता कार्यक्रम रहेका छन् । यसवर्ष कालिका म्युजिक अवार्डमा ३० विधामा प्रदान गरिने छ ।

१५ औँ कालिका म्युजिक अवार्ड तथा वार्षिकोत्सव समापन समारोह असोज ३० गते नारायणी कला मन्दिरमा हुने जनाईएको छ । वि.सं.२०५९ सालमा चितवनको भरतपुर–१० बाट प्रशारण थालेको कालिका एफएमले मनोरञ्जनका लागि कालिका एफएम ९१ मेगाहर्ज समेत प्रशारण गर्दै आएको छ । यस्तै एकता, शान्ति र संस्कारको संवाहकको नारा तय गर्दै विगत ५ वर्षदेखि टिभी कालिका एचडीको प्रसारण गर्दै आएको छ । पछिल्लो समय कालिका न्यूज डटकमलाई समेत व्यवस्थित बनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>