राजनीति
कार्यालय समयमा मोबाइल नचलाउन विमानस्थलका कर्मचारीलाई मन्त्री भट्टराईको निर्देशन

काठमाण्डौ,भदौं १५ –
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल फोनमा समेत संवाद नगर्न सचेत गराउनु भएको छ । मन्त्री भट्टराईले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी पनि दिनु भयो । ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार उद्घाटन गर्दै उहाँले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पार्नुभयो ।
मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको जानकारी गराउँदै उनीहरुमाथि कारबाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिनुभयो । विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसीटीभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले विमानस्थल देशको इज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु अनुशासित हुनुपर्ने बताउनुभयो ।
























