प्रवास

एनआरएन पोर्तुगलमा कांग्रेस पक्षधरको बर्चस्व

Banner

लिस्बन, पोर्तुगल, भदौं ११

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्तुगलको  नेतृत्वसहित अधिकांश पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

संघको सातौं अधिवेशनमा कांग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाति महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए । आइतबार सम्पन्न निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा कांग्रेसका रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भए । संयुक्त गठबन्धनका गोविन्द सापकोटा र धन शेर्पा पराजित भए ।

सन् २०१९÷२१ कार्यकालका लागि अध्यक्षमा कांग्रेसका उम्मेदवार तिलकप्रसाद गैरेले संयुक्त गठबन्धनका उम्मेदवार ईश्वर रिजाललाई पराजित गरे । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा कांग्रेसका भिमसेन थापा चुनिए । उनले गठबन्धनका उम्मेदवार आनन्द गुरुङलाई हराए ।

दुई उपाध्यक्षमा कांग्रेसका अशोक गुरुङ र मच्छिन्द्र अर्याल निर्वाचित भए । उनीहरुले गठबन्धनका पेमा छिरी शेर्पा र स्वतन्त्र उम्मेदवार गणेश पाण्डेलाई पराजित गरे ।

महासचिवमा भने संयुक्त गठबन्धनका हेमराज सुवेदी चुनिए । कांग्रेसका उम्मेदवार प्रकाश कडरिया पराजित भए । कोषाध्यक्षमा कांग्रेसका बिक्रमजङ्ग कुँवर र युवा संयोजकमा कांग्रेसकै दिनेश भण्डारी विजयी भए ।

यसअघि नै महिला उपाध्यक्षमा सीता श्रेष्ठ, महिला संयोजकमा सुशीला थापा, सचिवमा यामिन्द्र घर्ती र प्रकाश ढकाल तथा सहकोषाअध्यक्षमा तिलक कँडेल निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका १५ सदस्य पनि निर्विरोध भए ।

मतगणनापछि आयोजित समारोहमा नेपाली कांग्रेसका नेता बीरबहादुर बलायरले निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरे भने संघका अन्तर्राष्ट्रिय परिषद् उपाध्यक्ष कुल आचार्यले सपथ ग्रहण गराए । पोर्तुगलमा नेतृत्वसहित यति धेरै पदमा निर्वाचन भएको पहिलो पटक हो । कार्यक्रममा निर्वाचन समिति संयोजक अशोक घिमिरेले मत परिणाम घोषणा गरेका थिए ।

घोषणा समारोहमा कांग्रेसका नेता बलायरले राजनीतिक आस्थाका आधारमा नभई नेपालीपन र सेवा भावका आधारमा काम गर्न सुझाए । उनले गैरआवासीय नेपालीको समस्या समाधानका लागि नेपाल सरकारले र पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन आग्रह गरे ।

त्यस्तै, संघका उपाध्यक्ष आचार्यले गैरआवासीय नागरिकता मुद्दा र संघले गरिरहेका प्रयासबारे जानकारी दिए । उनले संघको नेतृत्वको लागि दाबी गर्दै सहयोग गर्न आग्रह गरे । कार्यक्रममा पोर्तुगलका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकर हमालले नयाँ नेतृत्वलाई सहयोग गर्न आफू तयार रहेको बताउँदै समस्या समाधानका लागि एकजुट हुन आग्रह गरे । सोही कार्यक्रममा निवर्तमान अध्यक्ष कुबेर कार्कीले नवनिर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गरे ।

करिब २५ हजारको संख्यामा नेपाली पोर्तुगल रहेको अनुमान छ । संघमा भने २१ सय २८ जना सदस्य रहेका छन् । ती मध्ये १४ सय ७२ सदस्यले मतदान गरेका थिए । त्यसैगरी ६ मत भने बदर भएको निर्वाचन समिति संयोजक अशोक घिमिरेले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>