भरतपुर
चितवनको प्रदर्शन गणतन्त्र मास्ने हर्कतः नेकपा काठमाडौं

चितवन,भदौं ४-
चितवनमा भएको पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर सत्तारुढ नेकपाको काठमाडौं जिल्ला कमिटीले बुधबार विज्ञप्ति जारी गरेको छ । नेकपा काठमाडौंका अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माद्वारा संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तिमा पुडासैनी मृत्यु प्रकरणपछि भइरहेको प्रदर्शन गणतन्त्रलाई कमजोर पारेर परिवर्तन उल्ट्याउनका लागि दक्षिणपन्थीहरुबाट आयोजना गरिएको दाबी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पुनरुत्थानवादी तत्व लगायतका कुत्सित मनसाय परिपूर्ति गर्न घटनालाई अनावश्यकरुपमा उछाल्ने, अराजकता सिर्जना गर्ने र समग्र परिवर्तन माथि धावा बोल्दै नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै कमजोर बनाई परिवर्तन उल्ट्याउने खेल हो ।’
नेकपाले अगाडि भनेको छ, ‘कथित विरोध प्रदर्शन धमिलो पानीमा माछा मार्ने प्रतिक्रियावादी र घोर दक्षिणपंथी गतिविधिबाहेक अरु केही पनि होइन ।’पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउन नेकपाले माग गरेको छ ।