चितवन विशेष
चितवन प्रशासनको चेतावनीः ‘आजदेखी होहल्ला गर्ने कसैलाई छाडिन्न’
चितवन, भदौं १–
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनुसन्धानलाई प्रभावित हुने गरी प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नियन्त्रणमा लिने बताएका छन् ।
दिनदिनै प्रहरी कार्यालय अगाडि प्रदर्शन हुन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी पन्तले आजदेखी होहल्ला गर्ने जोकोहीलाई नियन्त्रणमा लिने बताए । नारायणी अनलाईनसंग कुरा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी पन्तले दुई दिने केही खुकुलो पारे पनि आजदेखी सुरक्षामा कडाइ गरिने बताए । सहायक प्रजिअ पन्तले भने–‘दुई दिनसम्म घटना बुझ्छन् भनेर केही खुकुलो पारेका थियौं, आजदेखी पुरा कडाई गछौं । उनले जिल्लालाई अशान्त बनाउनेलाई नछोडिने बताए । उनले भने–‘आजदेखी होहल्ला गर्ने जो कोही होउन, सबैलाई नियन्त्रणमा लिएर कारवाही गछौं ।’ उनले शान्तिपूर्ण आन्दोलनलाई सामान्य रुपमा लिने जथाभावी नाराबाजी गर्नेलाई नियन्त्रणमा लिइने बताए ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको बारेमा अनुसन्धान गर्न चितवन प्रहरीले न्यू २४ टिभीका ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई बिहीबार राती पक्राउ गरेको थियो । शुक्रबार लामिछाने, कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको थियो । रवि लामिछाने पक्राउ परेको भन्दै उनका समर्थकहरुले शुक्रबारदेखी नै प्रहरी कार्यालय र अदालत अगाडि प्रदर्शन गरी रहेका छन् ।