चितवन विशेष
चितवनमा युवाका लागि एक करोड लगानी

चितवन,साउन २८-
राष्ट्रिय युवा परिषद् चितवनले युवाका लागि एक करोड लगानी गरेको छ । युवाको हकहितको संरक्षण र सम्वद्र्धन गरी समुन्नत मुलक, सक्षम नागरिक तयार गर्नको लागि हालसम्म चितवनमा पाँच सय भन्दा बढी युवालाई एक करोड लगानी गरिएको हो ।
राष्ट्रिय युवा परिषद् चितवनका अनुसार, बाख्रापालन, माछापालन, तरकारी खेती तथा सीप मुलक तालिमका लागि सो रकम खर्च गरिएको छ । विसं.२०७३ सालदेखि चितवनमा स्थापना भएको राष्ट्रिय युवा परिषद्ले सात वटा संघ संस्थालाई बचत तथा ऋण सहकारी संस्था मार्फत ऋण प्रवाह गरेको परिषद्का अध्यक्ष अस्मिन घिमिरेले जानकारी दिए । कमेरे बाख्रापालन समूह इच्छाकामना, देवेन्द्रपुर बाख्रापालन माडी, युवा मैत्री फ्रेस हाउस भरतपुर–११, सामुदायिक अध्ययन केन्द्र, नमुना स्मृति सिकाई केन्द्र, सोमेश्वर बाख्रापालन माडी, विश्वज्योति सामुदायिकलाई ऋण प्रदान गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
एउटा संस्थालाई पाँच लाख रुपैयाँ प्रदान गरिएको छ । सो रकम संस्थाले प्रत्येक वर्ष २० प्रतिशत रकम फिर्ता गर्नुपर्ने उनले बताए । यो रकमको ब्याज उपभोक्ताले तिर्नुपर्दैन । राष्ट्रिय युवा परिषद्को सिफारिसमा रकम प्राप्त गर्नका लागि सहकारीमा आवद्ध हुनुपर्नेछ ।
अहिलेसम्म ५ सय जना युवालाई विभिन्न सीप मुलक तालिम दिईएको घिमिरेले जानकारी दिए । ‘ब्यूटीसियन, मोवाईल मर्मत, विद्युत वाईरिङ, प्लम्बिङ, नाईलगायतका सीप मुलक तालिम दिईएको छ,’ घिमिरेले भने, ‘युवा उत्पादनसंग जोडिन्छ भने उसलाई तालिम समेत दिने व्यवस्था हामीले गरेका छौँ ।’
युवा वर्गमा सिर्जनशीलता, उद्यमशीलता तथा अन्वेषणात्मक क्षमताको विकास गरी राष्ट्रको आधारभूत शक्तिका रुपमा स्थापित गर्दै उनीहरुमा रहेका क्षमता उजागर गर्ने उदेश्यका साथ आफूहरु अघि बढेको उनले बताए । ‘श्रमको सम्मान गर्ने संस्कृति विकास गर्दै युवाको शारीरिक, मानसिक, बौद्धिक, नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सुसंस्कृत, सिर्जनशील तथा व्यवसायिक रुपमा दक्ष युवा तयार गर्ने हाम्रो उदेश्य हो,’ अध्यक्ष घिमिरेले भने,‘युवाका आधारभूत अधिकारहरु सुनिश्चित गर्दै उत्पादनशील स्रोतहरुमा हामीले लगानी बढाएका छौँ ।’ यद्यपि युवा परिसद्ले सोचे अनुसार काम गर्न नसकेको उनले बताए । ‘विभिन्न गैरसरकारी संघ संस्थाले गर्ने काम जस्तो प्रभावकारी त हुन सकेको छैन । उनीहरुको लगानी पनि धेरै हुन्छ,’ उनले भने, ‘सानो रकमले पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले यस्ता कार्यक्रम ल्याएका हौँ ।’
युवालाई रोजगार श्रृजना गर्नका लागि युवा परिषद्ले ‘एक वडा १० युवा रोजगार’ कार्यक्रम ल्याएको उनले बताए । ‘यसमा १० युवाले योजना तयार पारेर हामीलाई पेस गरेको खण्डमा केन्द्रमा सिफारिस गर्दछौँ’ उनले भने, ‘केन्द्रले स्वीकृत गरेको खण्डमा ६ लाख रुपैयाँ युवालाई प्रदान गर्छौृृृृृृ ।’ यसका लागि एक लाख रुपैयाँ युवाले राष्ट्रिय परिषद्मा संकलन गर्नुपर्ने हुन्छ । यो रकम विना ब्याज युवाले प्राप्त गर्दछन् ।
युवा परिषद्ले सबैभन्दा बढी रकम कृषि क्षेत्रमा लगानी गरेको छ । सीप मुलुक तालिम लिन चाहनेहरुका लागि पनि सहयोग गर्ने उनले जानकारी दिए । ‘हामीले युवालाई सीपमुलक तालिम दिईरहेका छौँ,’ उनले भने, ‘नेपाली युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने सोचका साथ अघि बढेका छौँ ।’