कृषि
लागत मूल्य नपाएपछि चितवनका दूग्ध किसान मर्कामा, दूधको मूल्य बढाउन एकहप्ते अल्टिमेटम

चितवन, साउन १६-
दूधमा आत्मनिर्भर जिल्ला भएको चितवनमा किसानले दूध उत्पादनको लागत मूल्य पाउन नसक्दा आन्दोलित भएका छन् ।
तीन वर्षदेखि दूधको मूल्य बढ्न नसक्नु तर दाना र चोक्करको मूल्य आकाशिदा किसानले दूधमा लागत अनुसारको मूल्य पाउन नसकेका हुन् ।
चितवनका किसानले प्रति लिटर ४८ रुपैयाँ ३६ पैसामा दूध बिक्री गर्दै आएका छन् । किसानले ४८ रुपैयाँ ३६ पैसामा बजारसम्म पु¥याए पनि उपभोक्ताले ८० रुपैयाँ भन्दा धेरै मूल्य तिरेर खानुपर्ने बाध्यता रहेको छ । तीन वर्ष पहिले फ्याटमा ५ दशमलब ५० र एसएनएफमा २ दशमलब ९२ हुँदा टीएस ३२ दशमलब ७५ प्रतिशत पर्दा दूधको मूल्य ४८ रुपैयाँ ३६ पैसा पर्न जान्छ, अहिले सो मूल्य यथावत रहेको छ ।
गाई तथा भैसीको दाना तथा चोकरको मूल्य भने तीन वर्षको अवधिमा १० रुपैयाँ बराबरले बढेको छ । यसरी दाना चोकर र सम्पूर्ण मूल्यलाई मिलाएर हेर्दा दूधको मूल्य तत्कालै प्रति लिटर न्यूनतम १० रुपैयाँ नघटाई वृद्धि हुनुपर्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका सचिव किशोर बगालेको भनाइ छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाले बिहीबार पत्रकार सम्मलेनको आयोजना गरेर सात दिन भित्रमा सरकारले दूधको मूल्य बढाउनुपर्ने बताएको छ । केन्द्रीय संघबाट भएको पहल कदमी र जिल्लाबाट उठेका आवाजलाई सरकारले बेवास्ता गरे किसानहरु चरणबद्ध आन्दोलनमा जाने संघका अध्यक्ष रत्नमणि न्यौपानेले बताए । सरकारले बिगतमा गरेको निर्णयलाई पनि कार्यान्वयन नगरेको किसानको भनाइ छ ।
सम्मेलनमा नेपाल दुग्ध व्यवसायिक कृषक समाजका चितवन अध्यक्ष इन्द्रमणि गैरेले कृषकले पाएको मूल्यमा उपभोक्तालाई दूध उपलब्ध गराएर बीचको कमिसन दुग्ध विकास संस्थानलाई सरकारले उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए । सरकारले दुग्ध सहकारीलाई विद्युुत् महसुलमा ५० प्रतिशत सहुलियत दिने भने पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । बोलेको कुरा त पूरा गरेर सरकारले दुग्ध सहकारीलाई उद्योग सरह करसमेत लगाएको अध्यक्ष न्यौपानेले बताए । हाल चितवनमा ६३ प्रतिशत दुग्ध उत्पादक किसानहरु रहेका छन् । ६८ हजार ६११ दूधालु गाई भैँसीबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन भइरहेको छ ।