चितवन विशेष

भरतपुर आँखा अस्पतालमा दुई लाख बढीले सेवा लिए

Banner

चितवन, साउन १६–

नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा दुई लाख आठ हजार ८०६ जनालाई सेवा दिएको छ । अस्पतालले अघिल्लो वर्ष एक लाख ७६ हजार ४३१ को उपचार गरेको थियो ।

अघिल्लो आवको तुलनामा गत आवमा ३२ हजार ३७५ जना बढी आँखाका बिरामीले सेवा लिएका हुन् । भरतपुरमा रहेको अस्पताल, विभिन्न स्थानमा गरिएका आँखा शिविर र अस्पतालबाट सञ्चालित आँखा उपचार केन्द्रहरुबाट बिरामीलाई सेवा दिइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अस्पतालबाट एक लाख ३७ हजार ५२५, उपचार केन्द्रबाट ४२ हजार २८९ र आँखा शिविरबाट २८ हजार ९९२ जनालाई सेवा दिइएको हो । जसमध्ये चार हजार २०९ को शल्यक्रिया गरिएको छ ।

अस्पतालमा आएका बिरामीमध्ये चार हजार २०९ र शिविरमा आएका तीन हजार २०४ जनाको आँखा शल्यक्रिया गरिएको हो । अस्पतालले चितवन, नवलपुर, पर्सा, धादिङ, बारा, गोरखा, रामेछाप, लम्जुङ, रसुवा, बर्दिया, तनहुँलगायतका जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । एक सय ४७ शिविर सञ्चालन गरिएको घिमिरेले जानकारी दिए । बीस शल्यक्रिया शिविर रहेका थिए ।

घिमिरेका अनुसार अस्पतालले चितवन, नवलपुर, धादिङ, पर्सा र तनुहँका ७५ विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको आँखा परीक्षण गरेको छ । सो क्रममा ३० हजार ८२३ विद्यार्थीको आँखा परीक्षण गरिएकामा एक हजार ५२ लाई निःशुल्क चश्मा वितरण गरिएको थियो । भरतपुर आँखा अस्पतालले चितवनको टाँडी, पर्सा, सौराहा, माडी र चनौली, पर्साको ठोरी, बाराको सिम्रनगढ, धादिङको सल्यानटार, नवलपुरको कावासोतीमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेलले सबैतिरबाट आँखा उपचारमा सहयोग जुटेसँगै धेरै बिरामीको उपचार गर्न सकिएको बताए । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै आफ्ना नागरिकको आँखा परीक्षणमा ध्यान पुग्न थालेको बताउँदै उनले आउँदा वर्षहरुमा बिरामीको सङ्ख्या अरु थपिने अनुमान गरिएको जानकारी दिए । उपचार गरेर निको हुन्छ भन्ने नजान्दा कतिपय बिरामी घरमै रहेको भन्दै उनले सबैले आँखा उपचारका बारेमा बुझ्न र बुझाउन सकेमा अस्पतालसम्म आउनेको सङ्ख्या बढ्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>