चितवन विशेष
चितवनका ठूला होटलमा किन हुँदैन प्रहरीको छापा ?

नारायणी अनलाइन डेस्क
चितवन, असार ३१-
चितवनमा नयाँ प्रहरी प्रमुख आउने बित्तिकै होटलहरुमा छापा मार्ने गरेको प्रवृत्ति यसपटक पनि दोहोरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रहरी प्रमुख दानबहादुर मल्ल आएपछि सोमबार साँझ चितवन प्रहरीले अवैध यौनजन्य क्रियाकलाप तथा सामाजिक विकृती रोक्न भन्दै भरतपुर र आसपासका होटल तथा र रेष्टुरेन्टहरुमा छापा मारेको थियो । यसअघि पनि चितवनमा नयाँ प्रहरी प्रमुख आउँदा सुरुसुरुमा होटलहरुमा छापा मार्ने र पछि त्यसलाई निरन्तरता नदिने प्रवृत्ति देखिएको थियो ।
क्लिन चितवन अभियानअन्तर्गत प्रहरीले सोमबार जिल्लाका नगर तथा ग्रामीण भेगमा रहेका होटल, लज, रेष्टुरेण्ट, कटेजहरुमा छापा मारेर ९७ जनालाई पक्राउ गरेको थियो । शंकास्पद अवस्थामा पक्राउ पर्नेमा ४२ पुरुष, ४३ जना महिला र १२ जना होटल सञ्चालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै होटल व्यवसायीहरुले भने प्रहरीले कसैलाई जानकारी नै नदिइ छापा मारिएको घटनाप्रति विरोध जनाएको छ । होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले होटल व्यवसायीहरुले आचारसंहिताभित्र बसेर काम गरिरहे पनि प्रहरीले भने आचारसंहिता उल्लंघन गरेको बताइन् । प्रहरीले छापा मार्दा होटल सञ्चालकलाई जानकारी दिई शंका लागेको कोठामा मात्र छापा मार्न सक्ने भनिए पनि प्रहरी कुनै जानकारी नदिई एकाएक छापा मार्नु प्रहरीको आपत्तिजनक कार्य भएको उनले जानकारी दिइन् । होटल व्यवसायीहरुले होटलमा नाम, परिचय खुलाएर मात्र होटलमा राख्ने गरेको छ तर प्रहरीले इन्ट्री बुकसम्म नहेरेको व्यवसायीको गुनासो छ । त्यस्तै, बिगतमा प्रहरी र व्यवसायीबीच भएको छलफलमा आचारसंहिताहरु तयार गरिएको थियो जसमा अधिकृत तहको प्रहरीबाट मात्र छापामार्ने भनिएकोमा त्यो पनि जिल्ला प्रहरी कार्यालयबाट पालन नभएको अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।
होटल व्यवसायीहरुका अनुसार प्रहरीले छापा मारेर पक्राउ गरेका व्यक्तिहरुमा कतिपय विवाहित जोडी, कतिपय बाहिर जिल्लाबाट चितवन घुम्न आएका सम्म छन् । चितवन होटल व्यवसायी संघका अध्यक्ष न्यौपानेले निर्दोष ७६ जनालाई प्रहरीले छाडिसकेको र बाँकी केहीलाई छानबिनकै क्रममा राखेको जानकारी दिइन् ।
मानवअधिकार संगठन चितवनका पूर्वअध्यक्ष बालकृष्ण पौडेलले कानुनले दिएको अधिकार भन्दा बाहिर गएर प्रहरीले पनि धरकपड गर्छ भने त्यो विषय मानवअधिकार उल्लंघन हुने बताए । उनले छापा मार्न जाँदा प्रहरीले सम्पूर्ण प्रक्रिया पु¥याउनुपर्ने उनको विचार थियो । उनले भने, ‘कानुनको बर्खिलाप हुने गरी प्रहरीले पनि काम गर्न मिल्दैन । कानुन सबैको लागि समान नै हुन्छ, साना होटलमा छापा मार्ने र ठूला होटललाई छाड्ने गर्न पाइँदैन ।’ चितवनमा साना होटलमा छापा मार्ने र ठूला होटललाई छाड्ने गरेकोमा चितवनका होटल व्यवसायीहरुले पनि पटकपटक आवाज उठाउँदै आएका छन् । होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले भनिन्, ‘यो विषय हामीले पनि उठाउँदै आएको विषय हो ।’
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले आम नागरिकहरुले समाजमा विकृति बढ्यो भन्ने गुनासो आएपछि नै होटलमा छापा मारिएको बताए । उनले नयाँ प्रहरी प्रमुख आउँदा मात्र छापा मार्छ भन्ने कुरा गलत भएको बताए । उनले भने, ‘ म आएको एक महिना मात्र भएको छ, म नयाँ होइन, अब यस्तो छापा निरन्तर चलिरहन्छ । ’ उनले छापा मार्दा व्यवसायी वा सर्वसाधारण कसैलाई दुःख दिने नियत नभएको बताए । उनले भने, ‘प्रहरीको निरन्तरको निगरानी र अध्ययनपछि मात्र सम्बन्धित होटलमा छापा मारिएको हो । हामीले ठूलो र सानो नभनी सबै होटलमा छापा मार्छौ । सबै ठूला होटल हाम्रो निगरानीमा रहेका छन् ।’
होटल व्यवसायीले उठाएको प्रहरीले आचारसंहिता भन्दा बाहिर गएर छापा मारेको भन्ने प्रसंगमा प्रहरी प्रमुख मल्लले भने, ‘हामीलाई शंका लागे जुनकुनै होटलमा छापा मार्छौ । होटल व्यवसायीलाई सोधेर वा उनीहरुको रोहबरमा रहेर छापा मार्नुभन्दा नमार्नु नै बेस हुन्छ । ’ कतिपय सर्वसाधारणले साना होटलमा मात्र यस्तो क्रियाकलाप नभई निकै महंगा र चितवनका ठूला होटलमा पनि यस्तो क्रियाकलाप हुने भन्दै प्रहरीले ती होटलमा छापा मार्न नसक्नु बिडम्वना भएको विचार राखे । स्रोतले भनेको छ, ‘ठूला र महंगा होटलहरुमा विभिन्न भीआईपी व्यक्तिहरु पनि यौन क्रियाकलापमा संलग्न हुने भएकोले प्रहरी त्यस्ता होटलसम्म पुग्दैन, सानातिना होटलमा गरिब, सोझासाझा जाने भएकोले पनि प्रहरी त्यतातिर केन्द्रित भएको हो ।’ होटल व्यवसायीहरुले नारायणगढको सतनचुली होटलबाट यसपटको छापामा कतिपय प्रहरीहरु नै पक्राउ परेका थिए तर परिचयपत्र देखाएपछि उनीहरुलाई छाडिएको छ । प्रहरीलाई भने त्यस्ता क्रियाकलाप हुँदा पनि छाडिनु दुःखद् भएको उनीहरुको गुनासो छ ।