चितवन विशेष

चितवन मेडिकल कलेज अवैध शुल्क लिनेमा नेपालकै अग्रस्थानमा

Banner

चितवन,असार ३१-

चितवन मेडिकल कलेजले संसदीय छानबिन चलिरहँदा पनि बढी शुल्क लिएर ठगी गरेको विद्यार्थीले आरोप लगाएका छन् । कलेजले ६२ लाखसम्म बढी शुल्क लिएको एमबीबीएस अध्ययनरत विद्यार्थीले गुनासो गरेका छन् । शुल्क कै विषयलाई लिएर विद्यार्थीहरु अहिले आन्दोलनमा छन् । कलेज प्रशासनले माग सम्बोधन गर्ने आश्वासन दिएका कारण पाँच गतेसम्म विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् ।
संसदीय समितिका संयोजक तथा सांसद सुरेशकुमार राईले अनुगमनमा जाँदा चितवन मेडिकल कलेजमा बदमासी भेटिएको बताउनुभयो । ‘कलेजहरूको स्थलगत अनुगमन गरिरहेका छौं,’ उहाँले भन्नुभयो ‘छिट्टै शुल्क कार्यान्वयन गर्न र मेडिकल कलेजको बेथिति रोक्न सरकारलाई निर्देशन दिन्छौं ।’

एमबीबीएस, बीडीएस, स्टाफ नर्सलगायत चिकित्सा शिक्षासम्बन्धी विषयमा चितवन मेडिकल कलेजले तोकेभन्दा अचाक्ली बढी शुल्क लिने गरेको अभिभावकको भनाइ छ । सिएमसीको शुल्क सिटमा ६२ लाख सम्म बुझाउनुपर्ने उल्लेख छ । ‘४५ लाख बुझाइसकेँ, अझै दुई वर्ष पढ्न बाँकी छ, मागेजति पैसा नबुझाए कलेज सञ्चालक र कर्मचारीले घरमा बुबाआमालाई समेत तनाव दिन्छन,’ ती विद्यार्थीले भने । चितवन मेडिकल कलेज प्रशासन भने यस बिषयमा केही बोल्न चाहाँदैन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको छानबिन समितिले मुलुकभरका मेडिकल कलेजको शुल्क अध्ययन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको अनुगमन निर्देशनालयले एक वर्षअघि गरेको अनुगमनमा समेत चितवन मेडिकल कलेज बढी शुल्क लिनेमा अग्रस्थानमा छ । निर्देशनालयले त्रिवि कार्यकारी परिषद् र चिकित्सा शिक्षा अध्ययन संस्थानमा बुझाएको प्रतिवेदनमा लाखौं अवैध शुल्क असुल्ने गरेको पाइएको उल्लेख छ ।

कलेजहरूले सरकारले तोकेभन्दा लाखौं बढी असुल्ने गरेको अनुगमनमा संलग्न एक अधिकारीले बताए । प्रतिवदेनअनुसार एमबीबीएस अध्ययनरत विद्यार्थीसँग चितवन मेडिकल कलेजले २२ लाखदेखि ३५ लाखसम्म अतिरिक्त शुल्क लिएको भेटिएको छ । सरकारले काठमाडौंबाहिर एमबीबीएस अध्ययन गर्न ४२ लाख ४५ हजार शुल्क तोकेको छ ।

चितवन मेडिकल कलेजले एउटै ब्याचका विद्यार्थीबाट १३ लाख ८२ हजार रुपैयाँसम्म घटीबढी शुल्क उठाउने गरेको पाइएको छ । वार्षिक, पुस्तकालय, विश्वविद्यालय दर्ता, सम्बन्धन, परीक्षा, इन्टनसिप, शिक्षा सेवा करलगायत ८ शीर्षकमा कलेजले विद्यार्थीबाट अवैध शुल्क बटुल्ने गरेको हो । विद्यार्थीबाट वार्षिक शुल्कबापत २ लाख लिइन्छ । उक्त शुल्क लिनु गैरकानुनी हो ।

‘शुल्कको दर प्रत्येक वर्ष क्रमशः बढाउँदै लगेको पाइयो,’ छानबिन प्रतिवेदनमा भनिएको छ । सुरुमा बढी शुल्कबारे थाहा नदिने र पछि परीक्षा दिने बेला जबरजस्ती उठाउने गरिएको एक छात्रले बताए । शुल्क उठाउन कलेजका सञ्चालक हरिश्चन्द्र न्यौपाने, सीईओ प्रताप देवकोटा र प्रिन्सिपल ममता तिवारीले विद्यार्थीलाई ताकेता गर्ने उनले सुनाए । ‘बढी शुल्क तिर्दैनौं भन्दा घरमा फोन गरेर तपाईंको छोरा पढ्दैन, आन्दोलन गरेर हिँडेको छ भनेर अप्ठ्यारामा पार्छन,’ उनले भने । आफूले ४० लाख तिरेपछि कलेजले थप २२ लाख मागेको उनको गुनासो छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विद्यार्थी र अभिभावकलाई तनाब दिने काम नगर्न कलेज प्रशासनलाई निर्देशन दिएको बताए । तर उनी पनि शुल्कको बिषयमा पन्छिने गरेका छन् । उनले विद्यार्थीहरु कानुनी प्रकृयामा जानुपर्ने बताए ।

पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थी पनि बढी शुल्क लिएको विषयमा आन्दोलित भएका थिए । त्यसपछि गत चैत ७ मा शिक्षा मन्त्रालयमा विद्यार्थीबाट लिएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्ने सहमति भएका थियो तर कलेजले रकम फिर्ता गरेको छैन ।

त्रिभुवन र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले एमबीबीएस, बीडीएसलगायत चिकित्सा शिक्षाका विषय अध्ययनरत विद्यार्थीसँग मनपरी शुल्क असुल्दै आएका हुन । विश्वविद्यालय र सरकार कलेजहरूले बढी लिएको शुल्क फिर्ता एकअर्काले गर्नुपर्ने भन्दै पन्छिने गरेका छन । शिक्षा मन्त्रालयमा भएको सहमतिमा विश्वविद्यालय र डिन कार्यालयको समन्वयमा शुल्क फिर्ता गराउने भनिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>