चितवन विशेष

नारायणगढ बजार दुई दिन बन्द हुँदा ग्राहक द्विविधामा

Banner

चितवन,असार ३०-

नारायणगढ र भरतपुरका बजार क्षेत्र सातामा दुई दिन बन्द हुँदा उपभोक्ता द्विविधामा परेका छन् ।

पछिल्लो समय केही व्यवसायीले शनिबार र केहीले सोमबार बजार बन्द गरेपछि बजारमा किनमेलका लागि आउने उपभोक्ताहरु द्विविधामा परेका हुन् । २०४५ सालदेखि सोमबार बन्द हुँदै आएको बजार पछिल्लो समय शनिबार बन्द गर्ने की सोमबार बन्द गर्ने भन्ने विवादले उपभोक्तासंगै व्यवसायीमा समेत अन्यौलता थपिएको छ । चितवनसहित छिमेकी जिल्लाहरु नवलपुर, गोरखा, तनहुँ, धादिङ र लम्जुङका उपभोक्ताहरु समेत किनमेलका लागि नारायणगढ आउने गरेका छन् । नारायणगढ चितवनको मुख्य व्यापारिक केन्द्र हो । सोमबार बजार बन्द हुने यहाँको पुरानो चलन हो ।

उद्योग वाणिज्य संघ चितवनले सोमबार बजार बन्द गर्ने निर्णय गरे पनि सार्वजनिक बिदाको दिन भनेर शनिबार बन्द गर्नुपर्ने भन्दै केही वस्तुगत संघहरुले अडान लिएपछि बजार बन्दको विषय झन् जटिल बनेको हो । आधिकारिक विक्रेता संघ, निर्माण व्यवसायी संघलगायतले शनिबार बन्द गरेका थिए । तर अहिले उद्योग वाणिज्य संघ चितवनमा आवद्ध रहेका २९ वस्तुगत संघ मध्ये १९ वटा संघले शनिबार, पाँच वटा संघले सोमबार बन्द गरिरहेका छन् ।

अन्य पाँच वटा संघ भने कुनै दिन पनि बन्द हुँदैनन् । कपडा, फेन्सी, सिलाई, सुनचाँदी र साईकल व्यवसायीहरुले शनिबार सबै कार्यालय बिदा हुँदा व्यापार राम्रो हुने तर्क गरेका छन् । फेन्सी व्यवसायी संघ चितवनका निर्वतमान अध्यक्ष बालकृष्ण कँडेलले काठमाडौंमा समेत शनिबार बन्द हुने भएकाले साना व्यवसायीहरुलाई सामान लिन सोमबार बन्द गरेर काठमाडौं जान मिल्ने भएका कारण सोमबार नै बन्द गर्न उपयुक्त भएको बताउँछन् ।

बैंकहरू शनिबार बन्द हुने भएका कारण पसल खुले पनि कारोबार नहुने उनले बताए । ‘मान्छेहरू बिदाको मुडमा हुन्छन्, घुम्न, डुल्न त निस्कन्छन् तर शनिबार किनमेल गरेको अनुभव भएन,’ कँडेलले भने । यसअघि ०६८ सालतिर पनि शनिबार बजार बन्द गर्ने भन्ने निर्णय भएको थियो तर राम्रोसँग कार्यान्वयनमा आउन सकेको थिएन ।

शनिबार बन्द गर्नु उपयुक्त हुने दावी गर्ने संघहरु मध्येको एक चितवन अटो मोवाईल्स एसोसियसनका अध्यक्ष कृष्ण काफ्लेले देशभर सबै क्षेत्र शनिबार नै बिदा हुने गरेको बताए । उनले भने, ‘शनिबार परिवारलाई पनि समय दिनुपर्छ, बैंकलगायतका संस्था पनि शनिबार बन्द हुुन्छ, शनिबार नै बन्द गर्नु उपयुक्त हुन्छ ।’

व्यवसायीहरु दुई भागमा विभाजन हुँदा उपभोक्ताहरु भने मारमा परेका छन् । भरतपुर–११ का शिव पौडेल भन्छन्,–‘बजार बन्दका कारण एउटा समान लिन एक दिन र अर्को समान लिन अर्काे दिन आउनु पर्ने बाध्यता भएको छ ।’ उपभोक्ताको मर्कालाई ध्यान नदिई व्यवसायीलाई स्वतन्त्ररुपमा बन्द गर्ने अधिकार दिँदा बजार क्षेत्रमा बेथिति देखिएको उनले बताए । उनले उपभोक्ताको समस्यालाई नहेरी व्यवसायीहरुले आफ्नो हितमा मात्र काम गरेको पौडेलको गुनासो छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बन्द गर्ने दिनलाई एकरुपतामा ल्याउन पहल भइरहेको बताए । उनले बन्द गर्ने दिनका बारेमा २९ संघ मध्ये ८ संघले मात्र जानकारी उपलब्ध गराएको बताए । ‘हामीले यसैदिन बन्द गर्नुहोला अरू बार हुँदैन भनेर दबाब दिन सकिँदैन । आफ्नो अनुकूलता विचार गरेर सबै व्यवसायीहरू कारोबार बन्द गर्ने दिनलाई एकरूपता दिन सहमत होलान् भन्ने लाग्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>