चितवन विशेष
अनुदानमा हाते ट्याक्टर वितरण

चितवन,असार २९-
भरतपुर महानगरपालिकाका वडा नम्बर ११ को नौरङ्गे टोल विकास संस्थालाई अनुदानको हाते ट्याक्टर वितरण गरिएको छ । प्रदेश नम्बर ३ का सांसद विजय सुवेदीले भरतपुर महानगरपालिकामा सञ्चालन गरेको करेसाबारी तथा कौसी खेती कार्यक्रम अन्तर्गत हाते ट्याक्टर वितरण गरिएको हो । यो कार्यक्रम सांसद सुवेदी निर्वाचित भरतपुर महानगरपालिकाका सात वडाका आठ टोल विकास संस्थामा लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको पचास प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।
आइतबार सांसद सुवेदीले तीन वटा हाते ट्याक्टर टोल विकास संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरे । उनले सहरी क्षेत्रमा रहेका जमिनको सही सदुपयोग गर्दै उत्पादन बढाउन कार्यक्रम संचालन गरिएको बताए । कौसी खेतीमा लगानीको तुलनामा निकै धेरै फाइदा हुने भएकोले यसको व्यावसायीकरणमा जानुपर्नेमा उनको जोड छ । घरमा फूल मात्रै लगाउनेहरूलाई त्यसमा फलफूल र तरकारी पनि जोड्न सुवेदीले सल्लाह दिए । आफ्नो घरमा पनि करेसाबारी र कोसीखेती रहेको भन्दै उनले हरेक कार्यालय र राजनीतिकर्मीहरूले घरमा पनि कौसी खेती गर्नुपर्ने बताए । कौसी खेतीबाट खाद्य सुरक्षामा पनि टेवा पुग्ने उनको विश्वास छ । सुवेदी भन्छन्, ‘शहरमा बसेर आत्मनिर्भरताको कुरा गर्नेहरुका लागी यो स्वावलम्बी बनेर देखाउने राम्रो विकल्प हो ।’ करेसाबारी र कौसीखेतीले घरमा फोहोरको रूपमा बाहिर फाल्नुपर्ने वस्तुहरूलाई कौसी बगैंचामा सजिलै प्रयोग गर्न सकिने, शहरीकरणका कारण बढ्दो तापक्रम घटाउन थोरै भए पनि मद्दत पुग्ने र फुर्सदको सिर्जनात्मक उपयोग हुने सुवेदीले बताए ।
कार्यक्रम लागु भएका क्षेत्रका नागरिकको मागका आधारमा उपकरण उपलब्ध गराइएको कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधिर श्रेष्ठले जानकारी दिए । उनले यो कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत १९ लाख ८० हजार रुपैंया बजेट उपलब्ध भएको जानकारी दिए । सबै टोल विकास संस्थासंग समन्वय गरेका कार्यक्रम संचालन गरिएको उनले बताए । टोलबाट माग गरे बमोजिम आवश्यकताका आधारमा प्लाष्टिकको गमला, मल, विउ, कोकोपिट, गमला राख्ने स्ट्यान, थोपा सिंचाई, हाते औजार, हाते ट्याक्टर लगाएतका सामाग्री उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए ।
नौरङ्गे टोल विकास संस्थाका सदस्य यमनाथ आचार्यले सांसदको पहलमा उत्कृष्ट कार्यक्रम लागु भएको भन्दै सफल बनाउन सबै टोलबासी लाग्नुपर्ने बताए । आफूले गर्ने काम र व्यवहारमा टोलको परिचय निर्धारण हुने उनको भनाई छ । कार्यक्रममा वडाध्यक्ष बाबुराम अधिकारी, कृषि ज्ञान केन्द्र भरतपुरका कृषि अधिकृत धन बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष विष्णु बहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।