चितवन विशेष
वामपन्थी नेता श्रीनाथ अधिकारीको निधन

चितवन,असार २२-
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धी काठमाडौंमा उपचाररत अधिकारीको आइतबार निधन भएको हो । अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार सघन उपचार कक्षमा उपचाररत अधिकारीको राती ८ः०२ बजे निधन भएको हो । स्वर्गीय नेता अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलीसंगै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
गएको पुस २७ गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका उनलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो । उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात समेत भएको थियो । नेता अधिकारीलाई शनिबार साँझ पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गरेका थिए भने आइतबार नेता नारायणकाजी श्रेष्ठ, सीपी गजुरेल, पूर्णकुमारी श्रेष्ठलगायतका नेताहरुले भेट गरेका थिए ।
विसंं २०१२ साउन गते हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासन समेत दिएका थिए ।
अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज छन् भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य छिन् ।
























