चितवन विशेष
सौराहामा एकीकृत थरुहट राष्ट्रिय भेला सुरु

कारी महतो,
चितवन, असार २१–
थारु समुदायको पहिचान, प्रतिनिधित्व, स्वायत्तता, समानता र स्वाभिमानको सवाल बारे बृहत छलफल तथा अन्तरक्रियाका लागि चितवनको सौराहामा आज (शनिबार)देखी एकीकृत थरुहट राष्ट्रिय भेला सुरु भएको छ ।
भेलामा काठमाडौं उपत्यकालगायत तराई र भित्री तराईका २५ जिल्लाबाट २५० थारु नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समिति, थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा भएको भेलामा थाकसका केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय पार्सदहरु, विभिन्न जिल्लाका जिल्ला सभापति लगायत प्रनिनिधिहरु थारुवान/थरुहट आन्दोलनका अगुवा तथा सक्रिय कार्यकर्ताहरुको सहभागीता रहेको छ । भेला भोलिसम्म चल्ने छ ।
थाकस केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरीको अध्यक्षतामा भएको भेलाले थारु समुदाय बहिष्करणमा पर्नुका कारणहरु, पहिचान भएका थारुहरुको साझा सवालहरु, थरुहट आन्दोलन सम्बन्धि उपलब्धि र मुद्धाहरु बारे बृहत छलफल गरी समाधानका उपायहरु पहिचान गरी निश्कर्ष निकालिने थाकस चितवनका सभापति ललित कुमार चौधरीले जानकारी दिए । भेलाले थाकसको आगामी कार्यदिशा तथा कार्यनीति पारित गर्नेछ ।

कार्यक्रममा विभिन्न जिल्लाका प्रतिनिधिहरुले रिपोर्टिङ गर्ने क्रममा झापा जिल्लाका तर्फबाट पुष्पलाल चौधरी, मोरङका प्रदीप विश्वास, सुनसरीका दयानन्द चौधरी, सिराहाका वीरेन्द्र प्रसाद चौधरी, धनुषाका उत्तम चौधरी, महोत्तरीका चेतनारायण चौधरी, सर्लाहीका बलिराम चौधरी, रौतहटका अधिकलाल चौधरी, बाराका गिरीधारी चौधरी, पर्साका वृजमोहन चौधरी, मकवानपुरका हरिलाल चौधरी, चितवनका तर्फबाट पूर्व न्यायधिश नन्दलाल महतो, नवलपुरका रामप्रसाद चौधरी, परासीका तर्फबाट मुन्द्रिका प्रसाद चौधरी, कपिलवस्तुका जंजीर चौधरी, दाङका भुवन चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अधिकांश वक्ताहरुले थारुहरु राज्यबाट अन्याय, अत्याचार, शोषण र दमनमा परेको हुँदा थारुका मुद्दा र सवालहरु स्थापित गर्न सम्पूर्ण थारुहरु एकढिक्का भई संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए ।
























