अन्तर्राष्ट्रिय

उत्तर कोरिया पुगे ट्रम्प, सीमा क्षेत्रमा किमसँग भेटवार्ता

Banner

सउल, असार १५-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दक्षिण र उत्तर कोरियाको सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता भएको छ।

उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिबीच सीमा क्षेत्रमा वार्ता भएको यो पहिलो पटक हो। आइतबार दिउँसो दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सैनिकरहित क्षेत्रमा पुगेका थिए। ट्रम्पलाई भेट्न किम प्योङयाङदेखि आएका थिए। दुबै नेताले सैनिकरहित क्षेत्रमा हात मिलाएका थिए। त्यसपछि ट्रम्प र किम उत्तर कोरियाको सीमाभित्र गएका थिए। ट्रम्प उत्तर कोरियाको सीमाभित्र जाने पहिलो अमेरिकी राष्ट्रपति भएका छन्। यसअघि पदमा रहँदा कुनै पनि राष्ट्रपति उत्तर कोरियाको सीमाभित्र पुगेका थिएनन्। भेटघाटपछि दुबै नेता संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। पत्रकार सम्मेलनमा ट्रम्पले आजको भेटघाट ऐतिहासिक घटना भएको बताएका छन्।

दुई वर्षअघि भएको आफ्नो भ्रमणका क्रममा पनि ट्रम्प उत्तर कोरियाको सीमासम्म पुग्न खोजेका थिए। तर, चर्को विरोधपछि नो म्यान्स ल्याण्डमा जाने उनको कार्यक्रम रोकियो। ट्रम्प र किमबीच गत फेब्रुअरीमा भियतनामको हनोईमा भएको दोस्रो शिखर वार्ता असफल भएपछि कोरियाली प्रायद्वीपको अनआणविकीकरणको प्रक्रिया अनिश्चित भएको थियो।

तर पछिल्लो समय ट्रम्प र उनको सम्बन्ध सुधार हुँदै गएको छ। अघिल्लो सातामात्र ट्रम्पले उनलाई चिठी पठाएका थिए। उनले चिठी निकै महत्वपूर्ण भएको बताएका छन्। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ट्रम्पको दक्षिण कोरिया भ्रमणले उत्तर कोरियासँगको वार्ता सुचारू गराउन आधार निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>