क्रिकेट
विश्वकप एसिया फाइनलः पारसको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं, असार १५–
आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
सिंगापुरमा आयोजना हुने प्रतियोगिताका लागि नेपालले आज (आइतबार) पत्रकार सम्मेलन गरेर पारस खड्काको कप्तानीमा विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । पहिलो पटक पत्रकार सम्मेलन गरी घोषणा गरिएको टिममा बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ सदस्यीय रहेका छन् । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले छनोट गरेको नेपाली टोलीमा भरपर्दा अलराउण्डर शरद भेषवाकरले पुनरागमन गरेका छन् ।
गत माघमा भएको युएईसँगको सिरिजमा शरद टिममा थिएनन् । नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी रहेका छन् । यस्तै वैकल्पिक खेलाडीहरुमा कुशल भुर्तेल, सुशन भारी, आरिफ शेख, जितेन्द्र मुखिया रहेका छन् ।
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको एशिया फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुँदैछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ ।नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
यस्तै विश्वकप छनोटको तयारी गर्न नेपाली टोली मलेसिया जानेछ । तयारी स्वरुप नेपालले मलेसियासंग द्विपक्षीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्नेछ ।