चितवन विशेष

कृषि विश्वविद्यालयको ‘किसान कल सेन्टर’ प्रयोगविहीन

Banner

चितवन, असार १५–

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्यापनमा मात्र होइन अनुसन्धान र प्रसारका कार्य पनि हुन्छन् । यहाँबाट हुने नयाँ–नयाँ अनुसन्धानबाट प्राप्त उपलब्धिलाई किसान समक्ष पुर्‍याउने गरिन्छ ।

विज्ञ व्यक्तिहरुको जमघट हुने थलो पनि विश्वविद्यालय भएकाले आमकिसानले यसबाट धेरै नै अपेक्षा गरेका हुन्छन् । सोही अपेक्षालाई ध्यानमा राखेर गत वर्ष विश्वविद्यालय किसानको हितमा ‘किसान कल सेन्टर’ स्थापना गर्‍यो । गत असार ३ गते विश्वविद्यालयका उपकुलपति डा इश्वरीप्रसाद ढकालले १६६०५६५२७२७ नम्बरको फ्रि कल सेन्टरको समुद्घाटन गरे । अहिले ठ्याक्कै एक वर्ष पुगेको छ । तर कल सेन्टर जुन अपेक्षा अनुसार स्थापना भएको थियो सो अनुसार काम गर्न नसकेको किसानले गुनासो गरेका छन् । अहिले सो किसान कल सेन्टर उपयोगविहीन जस्तै बनेको छ ।

विश्वविद्यालयको ज्ञान र प्रविधिलाई किसान समक्ष पुर्‍याउने उद्देश्यले स्थापना गरिएको कल सेन्टर अहिले उपयोग विहीन बनेको हो । किसानलाई आवश्यकता अनुसार सेवा दिन नसकेपछि अहिले कल सेन्टरमा फोन आउनै छाडेको छ । कल सेन्टरमा नियमित कर्मचारी पनि छैनन् । कहिले काही एमएसी अध्ययन गरिरहेका विद्यार्थीहरु मात्रै कल सेन्टरमा बस्ने गरेका छन् । कल सेन्टरमा भ्याएसम्म उपप्राध्यापक रामहरि तिमिल्सिनाले निःशुल्क सेवा गरिरहेको छन् । कल सेन्टरमा नहुँदा किसानले अपेक्षा अनुसार पाउन सकेका छैनन् ।

किसानको अपेक्षा अनुसार सेवा दिन नसक्दा कल सेन्टरमा फोन आउन छाडेको तिमिल्सिनाले बताए । उनले भने–‘कल सेन्टरबाट किसानको धेरै अपेक्षा गरेका थिए, सो अनुसार हामीले सेवा दिन सकेनौं ।’ किसानहरुले विभिन्न समस्या फोनबाट जानकारी गराउँदा सम्बन्धित विज्ञसंग तत्काल प्रतिक्रिया दिलाउन समस्या भएको बताए । उनले भने–‘कतिपय किसानलाई हामीले यहीँ बोलाएर समस्या समाधान गर्दथ्यो, कहिले विभिन्न समस्या सेवा दिन सकिएन ।’ उनले कल सेन्टरलाई अझै व्यवस्थित गर्ने प्रयास भइरहेको जानकारी दिए । तिमिल्सिनाले भने–‘कल सेन्टर किसानका लागि निकै महत्वपूर्ण छ, यसलाई अझै व्यवस्थित गर्न लागि परेका छौं ।’

सुरुवाती समयमा कल सेन्टरमा किसानले जानकारी लिए पनि पछिल्लो समय फोन गर्नै छाडेका छन् । एक वर्षको अवधिमा करिव डेढ सय वटा मात्रै किसानको फोन आएको छ । सुरुवाती समयमा दाङ, सल्यान, नवलपरासी र मकवानपुरका किसानहरुले फोन गरेर समस्या सुनाएका थिए । तर उनीहरुले अपेक्षा अनुसार सम्बन्धित विज्ञबाट समयमा जानकारी नपाउँदा कल सेन्टरमा फोन गर्न छाडेका छन् । यसलाई छिट्टै किसानलाई सहजताका लागि व्यवस्थित गर्न लागिएको विश्वविद्यालयका उपकुलपति डा.इश्वरीप्रसाद ढकालले बताए ।

उनले भने–‘सुरुवातमा सामान्य रुपमा कल सेन्टर स्थापना गरेका थियौं, यसको आवश्यकता देखेरै अब व्यवस्थित गर्ने तयारीमा छौं ।’ विश्वविद्यालयको मुख्य प्राथमिकता नै शिक्षण, अनुसन्धान र प्रसार भएकाले किसानको सहजताका लागि कल सेन्टरलाई अगाडि बढाइने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>