मध्य नेपाल

मकवानपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने

Banner

हेटौंडा,असार १२-

सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिका–९ मा स्थापना गर्ने भएको छ । उक्त नगरपालिकको स्वच्छन्द भैरव माध्यामिक विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको १७९ रोपनी १२ आना दुई पैसा जग्गा उक्त विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको नाममा भोगाधिकार प्रदान गर्ने निर्णय भएको छ ।

सोही मन्त्रिपरिषद्को यही असार ५ र ८ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले थाहा नगरपालिकामा उक्त विश्वविद्यायलका लागि जग्गा उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले उक्त विश्वविद्यालय स्थापनाका लागि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरेको छ । सो विश्वविद्यालय स्थापनाका लागि आगामी आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरेको छ ।

बैठकले पाल्पा बसपार्क निर्माणका लागि तानसेन नगरपालिका– ५ मा पर्ने मिलीजुली पालेको रमाइलो सामुदायिक वनको ४.९९ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका एक हजार २९१ रुख बिरुवा हटाउन स्वीकृति दिएको छ ।

पाँच भारतीयको नागरिकता रद्द

झुठो विवरण दिइ भारतीय नागरिकले नेपाली नागरिकता बनाएको भन्दै सरकारले उनीहरुको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । मन्त्री बाँस्कोटाका अनुसार सप्तरीबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिने धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, यस्तै रौतहटबाट नागरिकता लिएका जमुना राउत भनी चिनिने युमना सिंह र कृपाली राउत भनेर चिनिने कृपाली सिंहको नेपाली नागरिकता रद्द गरिएको हो ।

विभिन्न नीति स्वीकृत

यस्तै मन्त्रिपरिषद्ले विभिन्न नीति तथा आदेश स्वीकृत गरेको छ । मन्त्री बाँस्कोटाका अनुसार ‘राष्ट्रिय जनगणना तथा व्यवस्थापन आदेश, २०७६’, ‘राष्ट्रिय कृषि वन नीति, २०७६’, ‘राष्ट्रिय खाद्य स्वच्छता नीति, २०७५’ स्वीकृति गरिएको छ । यस्तै क्योटो अभिसन्धिको दोहा संशोधनमा स्वीकृति जनाउने निर्णय गरेको छ । यस्तै नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति, २०७५ स्वीकृत गरिएको छ ।

त्यस्तै ‘इन्टरगभरमेन्टल एग्रिमेन्ट अन ड्राई पोर्ट’ अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ । मन्त्रिपरिषद्ले सवारी तथा याताायत व्यवस्था ऐन, २०४९ खारेज गरी सङ्घीय सवारी तथा यातायात व्यवस्थासम्बन्धी विधेयक, २०७६ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

मन्त्री बाँस्कोटाका अनुसार बैठकले झिमरुक गाउँपालिका, प्यूठानको केन्द्र भ्यागुते कायम गर्न र रुरु गाउँपालिका गुल्मीको नाम रुरुक्षेत्र गाउँपालिका तथा केन्द्र घिउबेंसी कायम गर्न स्वीकृति दिएको छ । सङ्घको पदमा समायोजन भएका नेपाल वन सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका प्राविधिक कर्मचारीमध्ये सात जनालाई प्रदेश सचिव पदमा पदस्थापना गरेको छ भने फाजिलमा रहेका विविध सेवाका राप्र तृतीय श्रेणीका ६० अधिकृतलाई प्रदेश तथा स्थानीय तहमा रिक्त रहेका मिल्दो पदमा समायोजन गर्ने निर्णय गरेको छ ।

यसैगरी सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहको नेतृत्वमा सात सदस्यीय भ्रमण टोलीलाई रियाद, बर्लिन, पेरिस र लण्डनस्थित नेपाली नियोगको स्थलगत अनुगमन गर्न सैद्धान्तिक सहमति मन्त्रिपरिषद्ले दिएको छ ।

विभिन्न कलेजलाई नयाँ कार्यक्रम शुरु गर्न स्वीकृत

मन्त्रिपरिषद्ले विभिन्न कलेजलाई नयाँ शैक्षिक कार्यक्रम शुरु गर्न अनुमति दिएको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरलाई बीइ कम्प्युटर इञ्जिनीयरिङमा ४८ जना, एभरेष्ट इञ्जिनीयरिङ उण्ड म्यानजेमेन्ट कलेज बुद्धनगरलाई बीइ इन्फरमेशन टेक्नोलोजीमा ९६ जना विद्यार्थी पढाउन अनुमति दिइएको छ ।

गण्डकी कलेज अफ इञ्जिनीयरिङ उण्ड साइन्स पोखरालाई बीई कम्प्युटर इञ्जिनीयरिङका लागि ४८ जना, कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ललितपुरलाई व्याचर अफ आर्किटेक्चरमा ४८ जना, पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी विराटनगरलाई बिइ सिभिल इञ्जिनीयरिङमा ९६ जना र द हिमाल एजुकेशनल फाउण्डेशन एण्ड रिसर्च सेन्टर मातहतको रिज् कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्ट बालकुमारी ललितपुरलार्ई बिइ सिभिलमा ४८ जना र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी मोरङलाई बिइ सिभिल इञ्जिनीयरिङ स्नातकमा विद्यार्थीलाई ४८ जना र कम्प्युटर इञ्जिनीयरिङमा ४८ जना विद्यार्थीलाई पढाउन स्वीकृति दिइएको छ ।

त्यसैगरी नेपाल इञ्जिनीयरिङ परिषद् नियमावली, २०५७ को नियम १५ बमोजिम नेपाल सरकारबाट लिनुपर्ने स्वीकृृति अध्ययन, अध्यापन प्रारम्भ गर्नुपूर्व नै लिइ सक्नुपर्ने व्यवस्थाको पूर्ण पालनाका गर्न गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इञ्जिनीयरिङ परिषद्लाई जानकारी गराउने निर्णय भएको मन्त्रि बाँस्कोटाले जानकारी दिनुभयो ।

अध्ययन अध्यापन कार्य गर्न शिक्षण संस्थाले पूरा गर्नुपर्ने सम्पूर्ण दायित्व र जिम्मेवारी पूरा गर्ने गराउने र सो को अनुगमन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इञ्जिनीयरिङ परिषद्ले गर्नेछ । त्यस्तै हेभी इक्युमेण्ट डिभिजन, नयाँ बानेश्वरको नामको ४२ को १३ रोपनी सात आना जग्गामध्ये एक रोपनी चार आना जग्गा नेपाल इञ्जिनीयरिङ परिषद्ले प्रयोग गर्ने र नेपाल इञ्जिनीयरिङ परिषद्को नाममा र रेल विभागको कम्पाउण्डमा रहेको ११ आना जग्गा रेल विभागलाई फिर्ता गर्ने निर्णय भएको छ ।

यस्तै यही असार १४ गते फलफूललगायतका बिरुवा रोपन गरी देशव्यापीरुपमा राष्ट्रिय वृक्षरोपण दिवस मनाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । काठमाडौँ महानगरपालिका सहआयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौँमा आइफा एवार्ड आयोजना गर्न स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>